काठमाडौं । नेपालमा उत्पादन भएका सवारी साधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिनुभएको छ । नेपालमा उत्पादन भएका सवारी साधनहरूको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो ।
कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात ब्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुने भएको छ । सोमबार मन्त्री ज्वालाले मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको छ । ‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’ मन्त्री ज्वालाले भन्नुभयो ‘स्वदेशमै उत्पादन भएका सवारी साधनलाई हामी प्रोत्साहन गर्छौ, तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।’
यात्री लगायतले नेपालमा बिधुतिय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सवारी साधनको टेष्ट पनि भइसकेको छ । तर प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । प्रज्ञापन पत्रको सट्टा कर बिजक लिएर दर्ता गर्न मिल्ने ब्यवस्था गरिएको छ ।
यातायात व्यवस्थाकोकार्यविधिमा नेपालमा पनि सवारी साधनहरू उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र ब्यवस्था गरिएको छ ।
नयाँ कार्यविधि अनुसार स्वदेशमा उत्पादित सवारी साधनहरूले भन्सार प्रज्ञापनपत्रको सट्टामा कर बिजक ( मूल्य अभिवृद्धि कर र अन्तः शुल्क निकासी गर्दाको रसिद ) बुझाएर सवारी दर्ता गर्न सक्नेछन्। यसबाहेक सवारी पहिचान नम्बर ( भिआइएन ) को व्यवस्थापन, भन्सार महसुल कसरी लिने, सडक मर्मत दस्तुर के-कसरी बुझाउने लगायतका विषयमा अस्पष्टता हुँदा नेपालमा उत्पादित मोटरसाइकलहरू दर्ता हुन सकिरहेका छैनन्। ती सम्पूर्ण समस्याको समेत समाधान हुने बताईएको छ ।
अव केही दिन भित्रै यात्री मोटरसाइकलको दर्ता प्रक्रिया समेत सरू हुनेछ मन्त्री ज्वालाले बताउनु भयो ।
संघीय सरकारबाट यातायात तथा सवारी ऐन-२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको छ।
नेपालमै उत्पादित सवारी साधनको प्रज्ञापनपत्र हुँदैन। ऐन संशोधनका लागि पनि निकै समय लाग्ने भएपछि सरकारले हाललाई कार्यविधि बनाएर स्वदेशी उत्पादित सवारीसाधन दर्ता गर्ने बाटो खुला गर्न लागेको हो।