काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल खनालले आजसम्मको हाम्रा यी प्राप्त उपलब्धीहरूलाई रक्षा गर्न, यसको विकास गर्न, अझ समृद्ध र सुदृढ बनाउन हामी सबैले जोडदार प्रयत्न गर्नुपर्ने बताउनु भएको छ ।
लोकतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै नेता खनालले भन्नु भएको छ आज बैशाख ११ गते संसदीय लोकतन्त्र स्थापना भएको दिन हो । नेपाली जनताको लामो संघर्ष र बलिदान फलस्वरूप लोकतन्त्र स्थापना भएको आज एउटा ऐतिहासिक दिन पनि हो । यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, लोकतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
उहाँले सम्पूर्ण देशभक्त, प्रगतिशील र परिवर्तनकामी जनतालाई समाजवादको बाटोमा दृढता पूर्वक अघि बढेर हाम्रो देशलाई समाजवादी लोकतान्त्रिक मुलुकमा रूपान्तरण गर्नका निम्ति एकतावद्ध भएर अघि बढ्न जोडदार आह्वान समेत गर्नु भएको छ ।
२००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन सम्पन्न भए पश्चात नेपाल क्रमशः जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गर्यो । २०६२/०६३ मा पूर्णरुपमा हामीले जनवादी क्रान्ति समेत सम्पन्न गर्यौँ । फलस्वरूप, आज हामीले संविधान सभाको निर्वाचन मार्फत नेपालमा नयाँ संविधान निर्माण गरेका छौं र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत समेत गरेका छौँ ।
त्यहीसंविधान मार्फत हामीले सबै नेपालीहरूकोहक -अधिकार सुनिश्चित तथा सुरक्षित गर्दै मुलुकलाई समृद्ध र समाजवादी मुलुकको बाटोमा अघि बढाउन प्रयत्नशील छौँ उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।