छविराज ढकाल
विराटनगर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले आजको वर्तमान समयमा दलाल पुँजीवादीअर्थव्यवस्था विरुद्ध समाजवाद उन्मुख बैचारिक ,राजनैतिक र सांगठनिक संघर्ष गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो।
शनिबार नेकपा कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको उपलक्ष्यमा विराटनगरमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रमुख अतिथि समेत रहनुभएका नेता बस्नेतले मुलुकमा विद्यमान उद्योग, वाणिज्य, व्यापार, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विभिन्न सवालमा पार्टीले आवाज उठाएको बताउँदै भ्रष्टाचार, विभेद ,मिटरव्याजी,विरुद्ध र बहुपहिचानको पक्षमा पार्टीले आवाज उठाउने नीति लिएको प्रष्टयाउनु भयो। पार्टी सुदृढिकरण अभियान जेठ मसान्तसम्म थप भएको भन्दै पार्टीको सशक्तीकरण अभियानलाई घरदैलोमा पुर्याउन समेत आवश्यक निर्देशन दिनुभयो।
कार्यक्रमका प्रमुख वक्ता नेकपा एकीकृत समाजवादीका केन्द्रीय उप महासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टीपङ्क्तिमा लामबद्ध कार्यकर्तालाई शसक्त रुपमा निरन्तर संगठन विस्तारलाई जनताको विकास र जनजिविकासँग जोडेर लान निर्देशन दिनुभयो ।
नेता खतिवडाले नीति, इंगो , टक्राव , विदेशी चलखेल, नेतृत्व पलायन, आदिले नेपाली राजनीतिक फुटका कारण रहेको बताउँदै देशभित्र गरिवी ,वेरोजगारी , असमानता, भेदभाव, जस्ता समस्याहरू झेलिरहेको बताउनु भयो ।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा प्रदेश कमिटीका सचिव महेश रेग्मीले नेपालको कम्युनिष्ट आन्दोलन, उपलब्धि, चुनौती र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्य पत्रमाथि प्रा. डा. गोपाल भट्टराईले टिप्पणी गर्नुभएको थियो।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको आयोजना र मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष धर्मप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला कमिटीका अध्यक्ष चन्द्रवीर राईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रदेश, जिल्ला तथा विभिन्न स्थानीय तहका नेता तथा कार्यकर्ताहरूले आ आफ्ना जिज्ञासा समेत राख्नु भएको थियो।
उक्त अवसरमा पुराना कम्युनिष्ट वरिष्ठ नेता कमल कोइराला ,नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कृष्ण कुमारी विश्वकर्मा, केन्द्रीय सदस्य तथा प्रदेश नं १ की सांसद विद्या चाम्लिङ राई , प्रदेश नं १ का सामाजिक विकास पूर्व मन्त्री राजन राई ,केन्द्रीय सदस्य डा. देउमान सम्वाहाम्फे , लगायत जिल्ला तथा विभिन्न स्थानीय जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।