तामाकोसी ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अबको बाटो राष्ट्रिय पुँजीको निर्माण गरि समाजवादको तयारी रहेको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दोलखाले आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टीको ७४ औ स्थापना दिवसको अवसरमा तामाकोसी गाउँपालिकाको मालुमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदैनेत भुसालले उक्त कुरा बताउनुभएको हो।
कम्युनिस्ट पार्टीको अबको गन्तव्य समाजवाद निर्माण गर्ने हो र त्यसको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्र गर्ने भन्दै महासचिव भुसालले २ वर्ष भित्र सबै कम्युनिस्ट पार्टीलाई नेतृत्व दिन सक्ने वैकल्पिक बाम शक्ति निर्माणमा लागेको पनि बताउनुभएको छ।
कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाललाई स्मरण गर्दै भुसालले सही सिद्धान्त र समाजवादको लक्ष्यका साथ पार्टी स्थापना गरेको हुँदा उहाँ सम्मानित हुनुभएको र पार्टी स्थापना गर्दा बोकेको लक्ष्य पूरा गर्न कुशल संगठन निर्माण गरि त्यसको सही परिचालन गरेर संस्थापकको सपना पूरा गर्न एकीकृत समाजवादीले नेतृत्वदायी भूमिका निर्माण गर्ने बताउनुभएको छ।
नेपालमा सामन्तवादको अन्त्य भएपनि दलाल पुँजीबाट कायमै रहेकोले यसको अन्त्य गरि राष्ट्रिय पुजिबादको निर्माण गर्ने पनि बताउनुभएको छ। २०७४ मा जनताले कम्युनिस्ट लाई ठूलो आशा र अपेक्षा गरेर दुई तिहाइ जनमत प्रदान गरेपनि त्यसको नेतृत्व गर्न नसकेर केपि ओलीले इतिहासकै ठूलो भुल गरेको र जनताको आशा र अपेक्षालाई निराशा बनाइदिएकाले केपी ओली झुटको अर्को नाम भएको दावी गर्नुभएको छ ।
नेकपा एकीकृत समाजवादी दोलखाका अध्यक्ष भीम दहालको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन केन्द्रिय सदस्य द्वय गोपाल न्यौपाने र महेन्द्र बहादुर कार्कीले प्रशिक्षण दिनुभएको छ भने प्रशिक्षणको दोश्रो दिन पार्टीका केन्द्रिय उपाध्यक्ष प्रमेश हमाल ,केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्रसाद भन्डारी ,केन्द्रिय सदस्य अशेष घिमिरे ,जिल्ला कमिटी उपाध्यक्ष एवं तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।