झापा । नेकपा ( एकीकृत समाजवादी ) झापाले केन्द्रीय कमिटीले सञ्चालन गरेका संगठन सुदृढिकरण अभियानलाई व्यवस्थित गर्दै जिल्लाका सबै क्षेत्र, प्रदेश र पालिका स्तरीय कमिटीलाई मजबुत र प्रभावकारी बनाउने भएको छ ।
पार्टीको बिर्तामोडस्थित जिल्ला कमिटीको कार्यालयमा हालै सम्पन्न सचिवालयको बैठकले केन्द्रीय कमिटीको अभियानलाई अझ थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो ।
बैठकमा पार्टी अभियानलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न, निर्वाचन क्षेत्र र पालिका कमिटीको जिम्मेवारी समेत तोकेको छ । जस अन्तर्गत उद्योग वाणिज्य सङ्घतर्फ टिका प्रसाई , चिया मजदुरतर्फ भाष्कर घिमिरे, जन सांस्कृतिक महासंघ तर्फ प्रत्यूष राना, पेट्रोल पम्पमा कार्यरत मजदुरतर्फ तीर्थ सिग्देल, अट्टो , सिटी, ढुवानी र यातायात मजदुरतर्फ श्रीप्रसाद सिटौला, निर्माण मजदुरतर्फ रतन राजवंशीलाई जिम्मेवारी प्रदान गरिएको नेकपा ( एकीकृत समाजवादी ) झापाका सचिवालय सदस्य बि पी भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै ३० चैतमा पार्टी सम्बद्ध नेपाल दलित मुक्ति संगठन जिल्ला अधिवेशनलाई सफल बनाउनका लागि एक जुट हुन बैठकले निर्णय गरेको छ । सो अधिवेशनमा जिल्लाभरका सबै निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र र पालिकामा बाट प्रतिनिधित्व हुने गरी सहभागिताको लागि आव्हान गरिएको छ । सचिवालय कमिटीका संयोजक बेदराज
रेग्मीको अध्यक्षतामा र केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्पराज पोखरेलको उपस्थितिमा बैठक सम्पन्न भएको थियो । सो बैठकले केही दिन अघि मात्रै नेकपा ( एमाले ) परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका डम्बर गिरी, मिना राजवंशी लगायतका नेताहरुलाई समेत जिम्मेवारी प्रदान गरेको छ । गिरीलाई जिल्ला सचिवालय कमिटीको सदस्यको जिम्मेवारी प्रदान गरिएको छ भने राजवंशी सहित कमल गाउँपालिका केर्खाका रामबहादुर थापा ( बाबुराम ) र मिनल अधिकारीलाई जिल्ला कमिटी सदस्यको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै, पछिल्लो समय बैंक, तथा वित्तीय सङ्घसंस्थाहरूमा देखिएका समस्याका बारेमा केही व्याक्तिहरुले गरिरहेको गतिविधिहरु प्रति बैठकले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । साथै, बैठकमा चैत १७ र १८ गते चन्द्रगढीको देबकोटा चौकस्थित मुना भवनमा सम्पन्न पार्टी स्कुल विभागले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको समेत समीक्षा गरेको छ ।
प्रशिक्षण कार्यक्रममा केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा, पोलिटव्यूरो सदस्य धर्म निरौला, केन्द्रीय सदस्य अशेष घिमिरे लगायतले प्रशिक्षण दिनुभएको थियो ।