दिनेश खरेल
काभ्रे । नेकपा ( एकीकृत समाजवादी ) काभ्रेले विभिन्न पालिकाहरूमा वडा भेला तथा अधिवेशन सम्पन्न गरेको छ ।
आँउदो ज्येष्ठ २७ र २८ गते हुने जिल्ला अधिवेशनलाई लक्षित गर्दै जिल्लाको पाँचखाल नगरपालिकामा वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल सरकारका कृषि तथा सहकारी विकास मन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यमा नगरको वडा नम्बर ३ मा फाल्गुन प्रसाद दाहालको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरिएको छ ।
यसैगरी अनेमसंघ समाजवादी ,युवा संघ नेपाल र किसान महासंघ समेत गठन गरिएको छ ।
यस्तै भूम्लु गाउँपालिकाका १० वडा मध्ये दुईवटा वडामा अधिवेशन सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजवादीको संगठन सुदृढीकरण विषेश अभियान अन्तर्गत काभ्रे जिल्ला सहजकर्ता वदन कुमार भण्डारीले जानकारी दिनु भयो ।
यस्तै भूम्लु गाउपालिका वडा नम्बर २ मा कृष्ण बहादुर पहरीको अध्यक्षतामा २१ सदस्यीय कमिटी चयन भएको छ। केन्द्रीय सहजकर्ता तथा पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटा र जिल्ला सचिवालय सदस्य तथा पाँचखाल नगर कमिटी अध्यक्ष रविन्द्र सिपखानको उपस्थितिमा भातृसंगठनहरु अनेमसंघ, युवा संघ नेपाल र किसान महासंघ गठन गरिएको थियो ।
यस्तै वडा नम्बर ९ मा जनक तामाङको अध्यक्षतामा पार्टी कमिटी गठन भएको छ भने किसान महासंघ र युवासंघ नेपाल वडा कमिटी गठन गरिएको जिल्ला सदस्य दीपक ठकुरीले जानकारी दिनु भएको छ।
यसै गरि धुलिखेल नगरपालिकाको वडा नम्बर ३ ,४,६ को अधिवेशन सम्पन्न भइसकेको जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव हरिगोपाल प्रधानाङ्गले बताउनु भएको छ । साथै पनौती नगर अधिवेशनको तयारीका लागि वडा नम्बर १ देखि ४ सम्म वडा कमिटी गठन तथा पुनर्गठन सम्पन्न भइसकेको छ ।
जिल्लाको चौरीदेउराली गाउँ पालिका वडा नम्बर ५ र २ मा नेपाल सरकारका कृषि तथा सहकारी मन्त्री वेदुराम भुसालको प्रमुख आतिथ्यमा कमिटी चयन गरिएको संगठन सुदृढीकरण अभियान केन्द्रीय सहजकर्ता कल्पना श्रेष्ठले बताउनुभएको छ। वडा नम्बर दुईमा राजन प्रधानको अध्यक्षतामा ११ सदस्यीय र पाँच नम्बर वडामा अध्यक्ष केशव गौतम सहित २१ सदस्यीय कमिटी चयन गरिएको छ।
यस्तै नमोबुद्ध नगरपालिकामा १ नम्बर वडा अधिवेशन सम्पन्न भइसकेको जिल्ला सहजकर्ता रेशम लाल श्रेष्ठले जानकारी दिनु भएको हो ।