झापा । नेकपा एकीकृत समाजवादी पार्टीले झापामा संगठन बिस्तारलाई तिव्रता दिएको छ । संगठन सुदृढिकरण अभियान सँगै एकीकृत समाजवादी ले पार्टी र जनसङ्गठनहरूको विस्तार र सुदृढिकरण अभियानलाई तिव्रता दिएको छ ।
झापा यसका साथै पार्टीका तर्फबाट विभिन्न सामाजिक संघ संस्थामा समेत आफ्नो उपस्थितलाई बलियो बनाउँदै लगेको छ । पछिल्ला दिनमा झापामा नेकपा एकीकृत समाजवादी झापाले आफ्नो प्रभाव देखाउँदै गएको छ ।
एमालेबाट विद्रोह गरेको गरेको एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूको समेत लहर नै चलेको छ । केही दिन अघि मात्रै नेकपा एमालेका तर्फबाट यस अघि हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएका डम्बर गिरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । गिरी एमाले सम्बद्ध युवा संगठन युवा संघ नेपालको झापा अध्यक्ष समेत रहनु भएको थियो भने गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ३ मा एमालेका बागी उम्मेद्वार समेत हुनुहुन्थ्यो ।
भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा काँकरभिट्टा क्याम्पसमा कोषाध्यक्ष सहित दुई जना समानुपातिक सदस्य निर्वाचित गराएर नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूलेआफूलाई एमालेको गढ मानिएको मेचीनगरमा समेत बलियो उपस्थिति जनाइसकेको छ ।
काँकरभिट्टा क्याम्पसमा एमाले निकट अनेरास्ववियु भन्दा बढी मत ल्याएर अनेरास्ववियूले विद्यार्थी राजनीतिमा पनि आफूलाई स्थापित गराएको छ । त्यस्तै एमाले अध्यक्ष ओलीकै गृह नगर दमक स्थीत दमक बहुमुखी क्याम्पसमा समेत एक जना स्ववियु सदस्य निर्वाचित गराएर होस या दमक नगरको भूमि व्यवस्थापन समितिमा र वडा स्तरियसमितिहरूमा समेत आफ्नो बलियो उपस्थिति गराएर नेकपा एकीकृत समाजवादीले ओलीको नाकै मुनि पनि संगठन विस्तारलाई तिव्रता दिएको छ ।
त्यस्तै विभिन्न संघ संस्था र वन समितिहरूमा समेत पनि झापामा नेकपा एकीकृत समाजवादीले आफ्नो उपस्थितिलाई नेतृत्वदायी भूमिकामा गराउँन थालेको छ । बुद्धशान्ति गाउँपालिका वडा नं. ५ को पाँचपोखरी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष र उपाध्यक्ष नै नेकपा एकीकृत समाजवादीका चेतन आचार्य र श्याम धिमाल विजयी भएका हुनु भएको छ भने भद्रपुर स्थीत दुई वटा संस्थाहरू चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र चन्द्रगढी सिमसार क्षेत्र संरक्षण समितिको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका नेता दुर्गा भट्टराई रहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीले मेचीनगरका सामुदायिक वन समूहहरूमा पनि नेतृत्वदायी भूमिकामा स्थापित गराउँदै लगेको छ । हातेमालो वन समुह मेचीनगर १३ को लेखा समिति संयोजकमा नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद सिग्देल निर्वाचित हुनु भएको छ भने कालिका वन समुह मेचीनगर ११ को कोषाध्यक्षमा नेकपा एकीकृत समाजवादी समर्थित निर्मला पाठक निर्वाचित हुनु भएको छ । त्यस्तै मेचीनगर वडा नं. १, २, ३ र ४ कार्यक्षेत्र रहेको सिद्धि नहर सिँचाइ आयोजनाको कार्यसमिति सदस्यमा टंकमाया भट्टराईलाई निर्वाचित गराएर एमालेको बलियो संगठन भएको बाहुनडाँगी क्षेत्रमा पनि नेकपा एकीकृत समाजवादीले स्थानीयस्तरमा प्रभाव छोड्न थालेको देखिन्छ ।
चन्द्रगढी स्थीत बिरेन्द्र नमूना क्याम्पसको अध्यक्षका रुपमा समेत एकीकृत समाजवादीका नेता पुष्पराज पौडेलले काम गरिरहनु भएको छ । पुहाँतु जनज्योति मावि भद्रपुरको व्यवस्थापन समिति अध्यक्षमा ज्ञानेन्द्र कटुवाल हुनुहुन्छ । त्यस्तै झापाको शिवसतासी नगरपालिका भित्रका थुप्रै वटा संस्थामा एकीकृत समाजवादी निकटका व्यक्तिहरूले नेतृत्व लिएका छन । जसमा भानु मावि लालझोडाको व्यवस्थापन समितिको अध्यक्षमा ख्याम मैनाली, वाल सेवा आधारभुत विद्यालयको अध्यक्षमा गोविन्द ल्वागुन,शिवगञ्ज बजार व्यवस्थापन समितिको अध्यक्षमा सोम गुरागाई लगायत रहनु भएको छ ।
त्यस्तै कमल गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्षमा एकीकृत समाजवादीका अशोक सुब्बा रहनु भएको छ । जुन झापामा नेकपा एकीकृत समाजवादीका तर्फबाट निर्वाचित एक मात्रै जनप्रतिनिधि हुनुहुन्छ । त्यसैगरी कमल गाउँपालिका वडा नं. २ स्थीत नरेन्द्र जनता माविको अध्यक्षमा एकीकृत समाजवादीका रामबहादुर भण्डारी , तोपगाछी खानेपानी तथा सरसफाई संस्थाको अध्यक्षमा होम बहादुर बराल जिल्ला खानेपानी तथा उपभोक्ता महासंघ झापाको लेखा समिति संयोजकमा हरीकुमार पराजुली रहनु भएको छ ।
झापाको अर्जुनधारा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा एकीकृत समाजवादीका कृष्ण लोहार चयन हुनुभएको छ भने अर्जुनधाराकै जुकेखाडी सामुदायिक वन समितिको उपाध्यक्षमा दिपक दुलाल, अर्जुनधारा प्याब्सनको उपाध्यक्षमा कुमार राय रहनु भएको छ ।
यसका अतिरीक्त जिल्लाका थुप्रै संघ संस्थाहरुमा नेकपा एकीकृत समाजवादीले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ । राजनितिक दलका रुपमा स्थापना भएको छोटो अवधीमा नै पार्टीको आन्तरिक संगठनदेखि बाहेक पनि समाजका अनेकन संरचना भित्र पार्टी सम्बद्ध व्यक्तिहरुलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउँदै गएको छ ।
जिल्लाका सबैजसो संरचनाहरुमा नेकपा एकीकृत समाजवादीको उपस्थिति संस्थागत र व्यक्तिगत रुपमा बढाउँदै लगिएको नेकपा एकीकृत समाजवादी झापाका सचिव बि.पी. भट्ट्राई बताउनु हुन्छ । ‘हामी जिम्मेवार र निर्णायक शक्ति हौं र त्यही अनुसार हामी समाज निर्माणमा इमान्दार प्रयास जारी राख्छौं,’ जिल्ला सचिव भट्टराईले भन्नुभयो ।
झापाका १५ वटै पालिकामा नेकपा एकीकृत समाजवादीले आफ्नो पालिकास्तरिय कमिटि गठन गरिसकोको छ भने झापाका ८० वटा वडा कमिटि गठन भएर संगठन बिस्तारको काम भइरहेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव अशेष घिमिरेले बताउनु भयो । बाँकी रहेका वडा कमिटि गठनको काम समेत बैशाख भित्रमा सकिनेछ घिमिरेले बताउनु भयो।
केन्द्रीय सदस्य घिमिरेका अनुसार २०८० जेठ भित्रमा नेकपा एकीकृत समाजवादीको झापाको जिल्ला अधिवेशन तयारी गरीएको छ अहिले जिल्ला अधिवेशनकै तयारी स्वरुप विभिन्न काम भइरहेको वहाँले बताउनु भयो । जिल्ला समितिलाई अधिवेशन आयोजक कमिटिमा रुपान्तरण गरिएसंगै एमालेबाट विद्रोह गरेका थुप्रै नेता कार्यकर्ताहरु आफ्नो पार्टीको सम्पर्कमा आउनेक्रम रहेको घिमिरेले बताउनु भयो ।
उहाँका अनुसार शुरुवातमा एमालेबाट विद्रोह गरेकाहरुलाई नै संगठित गरेर पार्टी निर्माणको काम गरेर अघि बढे पनि अहिले भने सबै पार्टीबाट नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनेको संख्या उल्लेख्य रहेको छ । त्यस्तै कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्छ भन्ने आम मानिसहरुको साथ पनि नेकपा एकीकृत समाजवादीलाई नै रहेको केन्द्रीय सदस्य घिमिरेले बताउनु भयो ।
नेकपा एकीकृत समाजवादीले झापामा संगठन सुदृढीकरण तथा परिचालन अभियान सञ्चालन गरिरहेको छ । एक महिनासम्म चल्ने यस अभियानले विभिन्न कमिटीहरु गठन, पुर्नगठनदेखि लिएर निस्कृय रहेका कमिटि र व्यक्तिहरुलाई सक्रिय बनाउने , पार्टी सम्बद्ध जनसंगठनहरु गठन र पूनर्गठन गर्दै सक्रिय बनाउने काम गरिरहेको केन्द्रीय सदस्य घिमिरेले बताउनु भयो ।
नेकपा एकीकृत समाजवादीले झापामा एक वार्ड एक सय संगठित सदस्य अभियान पनि सञ्चालन गरिहेको र त्यस अभियान अन्तर्गत पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गरिरहेको जिल्ला सचिव भट्टराईले बताउनु भयो ।
संगठन सुदृढीकरण अभियान अन्तर्गत नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल चैत १७ र १८ गते झापामा आएर बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुने जिल्ला सचिव भट्टराईले जानकारी दिनु भयो ।