काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु चुनावलाई लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । संगठनले बुधबार अनामनगरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलगायतका नेताले घोषणापत्र सार्वजनिक गर्नु भएको हो ।
‘मिसन स्ववियु, भिजन २४’ नारासहित स्ववियु निर्वाचनमा होमिएको अनेरास्ववियूले विश्वविद्यालय सुधारका लागि २२ बुँदे शैक्षिक एजेण्डालाई घोषणापत्र मार्फत् अघि सारेको अध्यक्ष पराजुलीले बताउनु भयो ।
जसमा शिक्षामा सबैको अधिकार- धनी-गरिब बराबर, समाजवादी शिक्षा-समयमै परीक्षा, शैक्षिक संस्थामा नोलाइन सबै काम गरौँ अनलाइन, शिक्षामा छोरी बुहारी राज्यको प्रमुख जिम्मेवारी, अन्त्य गर्छौ निजीकरणको आधार बन्दगरौँ शिक्षामा व्यापार लगायतका रहेका छन् ।
संगठनले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर बनाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, निजी शैक्षिक संस्थालाई सम्बन्धन दिन बन्द गर्नुपर्नेजस्ता एजेण्डा अघि सारेको छ ।
साथै, अनेरास्ववियूले १७ बुँदे प्रतिबद्धतासमेत अघि सारेको छ । आफ्नो संगठनलाई जिताइए स्ववियुलाई साझा संस्था बनाइने, विश्व विद्यालय र क्याम्पसमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने, ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका प्रमाणपत्र सम्बन्धित क्याम्पसबाटै दिलाइने लगायतका प्रतिबद्धता संगठनले गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनमा पार्टीको नाम लेखेर भोट माग्नु गलत भएको भन्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको नाम र चिन्ह देखाएर स्ववियु निर्वाचनमा भोट मागेको प्रति आपत्ति जनाउनु भयो ।
विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्नुपर्ने भन्दै स्ववियु निर्वाचनलाई पार्टीको निर्वाचन नबनाउन आग्रह गर्दै नेता पराजुलीले नेकपा एमालेको विद्यार्थी संगठनमा विद्यार्थीको एजेण्डा नै सकिएको बताउनु भयो ।