बाजुरा । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले जिल्लाको खेल क्षेत्रको विकासमा प्रतिवद्ध भएर लाग्ने बताउनु भएको छ । बाजुरा जिल्लाको १३ औं राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्दै मन्त्री शाहीले खेल क्षेत्रले नै देशको पहिचान कायम गर्ने र मानव स्वास्थ्यलाई समेत स्वस्थ बनाउने भएकोले लगानी आवश्यक हुने बताउनु भएको हो ।
१३ औं राष्ट्रपतिरनिङ सिल्ड उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहीले दशरथ माविको खेल मैदान र सुन्दर नगरी आटीचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नमा विशेष पहल गर्ने बताउनु भयो । सुन्दरताले भरिएको क्षेत्र र सम्भावना बोकेका क्षेत्र भएकोले लगानीको प्रतिफल आउने गरि काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले सिंगो बाजुराको विकासमा सबैको सहकार्य र हातेमालो आवश्यक रहने बताउनु भयो । मन्त्री शाही सहितको टोलीले प्रेम ताल अर्थात छेडेदहको अवलोकन समेत गरेको थियो । तालको संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहने उहाँले बताउनु भयो ।
सिल्डमा बाजुरामा नौ वटा मध्ये ८ वटा पालिकाका खेलाडीहरू सहभागि छन् । जिल्ला खेलकुद विकास समिति अध्यक्ष राकेश थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश सरकारका मन्त्री नरेश कुमार शाही रहनु भएको थियो । भने प्रदेश सभा सदस्य जुना दानी विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिकाका नगर प्रमुख अमर खड्का, बुढीगंगाका नगर प्रमुख रामबहादुर बाँनीया त्रिवेणीका नगर प्रमुख कर्णबहादुर थापा, खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दीलबहादुर रावत, त्रिवेणीका उपप्रमुख कमला जैशी, गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापा लगायत सहभागिता थियो ।
पालिकाबाट ९० जनाका दरले ७ सय २० जना खेलाडी सहभागि हुने छन् । नौ वटा पालिका मध्ये स्वामिकमात्र्तिकखापर गाउँपालिकाले भाग लिएको छैन् । दशरथ माविको खेल मैदानमा हुने राष्ट्रपति रनिङ सिल्ड तीन दिनसम्म चल्ने बताइएको छ । तीन दिनको अवधि राखेपनि समयमै सम्पन्न हुन नसके एक दिन थप गरिने आयोजकले बताएको छ । खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको दशरथ माविको खेल मैदान जिल्लामा प्याराफिट भएको एकमात्रै खेल मैदान हो ।
दशरथ माविमा यस अघि जिल्ला स्तरीय साविक गाविसकै सहभागितामा राष्ट्रपति रनिङ सिल्ड आयोजना गरिएको थियो । सिल्डमा चार वटा विधा अन्तर्गत भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टका खेलहरु सञ्चालन हुनेछन् । जिल्ला खेलकुद समितिले खेलको हरेक वर्ष आयोजना गर्दै आएको छ ।