बाजुरा । नेकपा ( एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सम्पूर्ण कर्मचारीहरूले बाजुराको विकास समृद्धि र सुशासनको मिसन बनाएर काम गर्नु पर्ने बताउनुभएको छ ।
विहीवार जिल्ला प्रशासन कार्यालय मार्तडीमा कार्यालय प्रमुखको बैठकलाई सम्बोधन गर्दै मन्त्री शाहीले बाजुरामा आउने हरेक योजनाहरू कर्मचारी र उपभोक्ताहरूको मिलोमतोमा वितरण हुने र कमिसनमा गाउँगाउँमा योजना दिएको गुनासो जताततै बाट आएको भन्दै आगामी दिनहरूमा यस्ता खाले कामहरू कोही कसैले नगर्न निर्देशन दिनुभएको छ ।
राष्ट्र सेवकले कमिसन भन्दा पनि मिसनमा काम गर्नु पर्ने बताउनु भएको छ । विहीवार प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का को अध्यक्षता बसेको बैठकमा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री नरेश कुमार शाहीले कर्मचारी र जनप्रतिनिधिहरूले बाजुराको विकास र शुसासन कायम गर्न तर्फ लाग्नुपर्ने समेत बताउनुभएको छ ।
साथै मन्त्री शाहीले प्रदेश र सङ्घबाट आएका योजनाहरू चरम दुरुपयोग भएको गुनासो आएकोले आगामी दिनहरूमा यस्तो हुन नदिने समेत बताउनु भएको छ । कृषि ,पशु ,घरेलु लगायत कार्यालयका कर्मचारीले एकै फर्मलाई पटक पटक अनुदान दिने गरेको समेत गुनासो आएको हुँदा अब उत्पादन मुखी अनुदान दिने तर्फ लाग्न समेत जोडदिनुभयो।
यता कार्यलयका प्रमुखहरूले भने संघ र प्रदेशको निति नियममा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन ।
साथै बैठकमा आधिकांश कार्यालय प्रमुखहरूले मन्त्री शाहीलाई विभिन्न माग राखेका छन । जस्तै कर्मचारीको अभाव भएको हुदा काम गर्न असहज भएको भन्दै प्रदेश लोकसेवा आयोगले कर्मचारीको पदपूर्ति गरिदिनुपर्ने, इलाका प्रहरी तथा विभिन्न युनिटमा सुरक्षा कर्मिहरूलाई यातायातका साधन गाडी तथा वाईक सम्म प्रदेशले व्यवस्थापन गरिदिनुपर्ने ।
जिल्ला खेलकुद विकास समितिकोभवन तथा खेलमैदान अभाव, जिल्ला समन्वयको कार्यालय जिण भएको, स्याउ प्रसोधन केन्द्र अनिवार्य स्थापना गर्नु पर्ने, ओखर ,स्याउ,किवी,आलुखेती लाई मध्यनजर गरि बजेट बनाउनु पर्ने र भेडा तथा बाख्रापालन तर्फ आवश्यक बजेट व्यवस्थापन गर्नु पर्ने, साफे मार्तडी सडक खण्डको वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने लगायत माग राखेका थिए ।
उसो त मन्त्री शाहीले कार्यालय प्रमुखले राखेका मागहरू सम्बोधन गर्ने बताउनु भएको छ । बैठकमा जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुख तथा निमित्त कार्यालय प्रमुखहरूको उल्लेख्य उपस्थित रहेको थियो ।