दिनेश खरेल
काभ्रे। नेकपा ( एकीकृत समाजवादी ) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काभ्रेले चैत ५ गते हुने स्ववियु निर्वाचनमा भाग लिने भएको छ। अनेरास्ववियूले जिल्लामा रहेको आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा उम्मेदवार उठाउने तयारी गरेको हो।
आगामी चैतमा हुने स्ववियु निर्वाचनमा जिल्लाबाट आफ्नो सङ्गठनले जिल्लाका सबै क्याम्पसहरूमा उम्मेदवार उठाउने र निर्वाचन लड्ने तयारी भइरहेको अनेरास्ववियू काभ्रेका इन्चार्ज बदन कुमार भण्डारीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो हामिले जिल्लामा हुने स्ववियु निर्वाचनमा पार्टी नेतृत्व र निकट भातृसंगठनहरुले प्रत्यक्ष सहयोग गर्ने आस राखेका छौ। जिल्ला पार्टी नेतृत्वले क्याम्पसहरूमा उठाउने उम्मेदवारको सिफारिस गरि पठाइदिनु हुन पनि अपिल गरेका छौ।
काभ्रे जिल्लामा १६ वटा क्याम्पसहरूमा स्ववियु निर्वाचन हुने छ। जसमध्ये प्रकाश बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस,संजिवनी क्याम्पस ,तेजगंगा क्याम्पस, धुलिखेल क्याम्पस ,डेडिथुम्का क्याम्पस,सर्वमंगला क्याम्पस, कुशादेवी क्याम्पस, कानपुर क्याम्पस, प्रभा बहुमुखी क्याम्पस,जनक बहुमुखी क्याम्पस, इन्द्रेश्वर क्याम्पस, पार्वती बहुमुखी क्याम्पस,चैतन्यक्याम्पस,मेलिनियम क्याम्पस र पोलिटेक्निकल क्याम्पसमा स्ववियु निर्वाचन हुने छ।
अहिलेसम्म सबै क्याम्पसहरूमा निर्वाचन लड्ने तयारी भइरहेको अनेरास्ववियूका जिल्ला अध्यक्ष रामेश्वर आचार्यले बताउनुभयो हामिले सबै क्याम्पसहरूमा कमिटी गठन गरिसकेका छौ। निर्वाचनको तयारीका लागि १३ वटै पालिकामा इन्चार्ज र निर्वाचन तयारी समिति गठन गरिएको , अध्यक्ष आचार्यले जानकारी दिनुभयो।