बुटवल । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताउनु भएको छ ।
नेकपा एकीकृत समाजवादी रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वाम शक्ति निर्माणका लागि वार्ता र छलफल भने भइरहेको बताउनु भयो । वैचारिक कम्युनिष्ट पार्टी निर्माणका लागि वाम ध्रुविकरणका लागि छलफल भइरहेको र त्यो वैचारिक कम्युनिष्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्न सक्ने बताउनु भयो ।
वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्युनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको भन्दै उपमहासचिव खतिवडाले नेता भुसाल स्वघोषणा गरेर हालै नेकपा एकीकृत समाजवादीमा आउनु भएको र अहिले वामदेव गौतम र भिम रावल लगायतलाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताउनु भयो ।
उहाँले आगामी साँढे ४ बर्ष पछि हुने स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह समेत गर्नुभयो । खतिवडाले आगामी साँढे ४ वर्षपछि हुने निर्वाचनमा नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचन लड्ने तागतमा हुने बताउँदै दोधारे मन नबनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘ आउदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरि पार्टी बनाउँछौं, त्यसका लागि तिव्र रुपमा संगठन निर्माणमा जुटौं’ उहाँले कार्यकर्तालाई अपिल गर्नुभयो ।
नयाँ कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नका लागि प्रशक्षिण , छलफल र वैचारिक बहस बढाइने भन्दै नेता खतिवडाले नागरिकहरूले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्यालाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।
भेटघाटमा पार्टीका पोलिटब्युरो सदस्य डा. कृष्ण पन्थ, केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश सदस्यहरु राजेन्द्र पाण्डे, थानेश्वर भट्टराई, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष चिनबहादुर गुरुङ, जिल्ला सचिव सरिता श्रीस लगायतका नेताहरूको उपस्थिति थियो ।