बासुदेव अधिकारी
ए मुक्तिकामी योद्धाहरू हो
वीरताको गाथा गाउँदै गाउँदै
निरङ्कुशताको जन्जिरचुँडाउँदै
युद्ध मैदानमा हाँसि हाँसि
फाँसीको माला लगाएका थियौ
नेपाल आमाका ती हजारौं
वीर सन्तानहरूलाई आजका दिनमा
उच्च सम्मान र आदर अनि
भक्तिभाव र सम्झना सँगै
हार्दिक श्रद्धासुमन छ ।
तर आज सहिदको रगतले
पोतिएका र रङ्गिएका
धर्तीको कुना कुनामा
सहिदहरू रोइरहेछन्
तिनका सन्तानले सरापीरहेछन्
आशाका सपना सजाएका थिए
तर त्यसको बदलामा आज
सहिदको नाम बेचेर
उनीहरूकै बैसाखी टेकेर
सत्ता मोहको कुर्सीमा बुर्कुसी मार्दै
पदीय भागबन्डाकोबिलो बाँड्दै
खरानीको टीका लगाउनेहरूलाई
आजका दिनमा सालिक बनेर
सहिदहरूले चिहाइरहेछन नियाली रहेछन् ।
खबरदार रगतको टीका मेट्न पाइदैन
सहिदको सावाँ र व्याज भजेर
देशको अस्मिता र स्वाभिमान लुट्न
अनि खरिद बिक्री गर्न पाइदैन
भोक रोग , अशिक्षा र महँगीको
मारमा छटपटाई रहेका जनतालाई
बेखबर र वेवास्ता गरेर
हत्या लुट र बलात्कार अनि
असुरक्षाका घटनाहरूलाई
सत्ताको किनारामा र खोपीमा राखेर
नुनपानी छर्कँदै मुकदर्शक बनेर
लाज सरम पचाएर निर्मम बनी
रातो कार्पेट बिछ्याउन पाइदैन ।
सहिदको रगतले लेखेको संविधान
कसैको खेलौना र पेवा अनि
कागजको खोस्टो पनि होइन
मन लागि घरबार र दरबार अनि
सम्पत्ति जोड्ने साधन पनि होइन
यदि सहिदको सम्मान गर्ने हो भने
जनसत्ताका ठेकेदारहरू हो !
बेखबर र निश्चिन्त नबन
जनताको जीवन र जगतको
सुरक्षाको ग्यारेन्टी गर अनि मात्र
सहिदको सम्मान र आदर भावसँगै
हार्दिक तथा भावपूर्ण श्रद्धाञ्जली हुनेछ ।