काठमाडौं । नेकपा ( एकीकृतसमाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नेताहरू जनताको दुख सुखको साथी बन्नु पर्ने बताउनु भएको छ ।
आइतबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मुस्लिम इत्तेहाद संगठन नेपालको पदाधिकारीहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले त्यस्तो बताउनु भएको हो ।
उहाँले मुस्लिम इत्तेहाद संगठनको सक्रियताले नेपालमा रहेका मुस्लिम समुदायका समस्या समाधान गर्नलाई समेत सहयोग हुने बताउनु भयो । वर्तमान सन्दर्भमा समाजवादको विचार सहित जनताका साथमा पुग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै अध्यक्ष नेपालले नेपालमा रहेका मुस्लिम समुदायका वस्तीबस्तीमा पुगेर समुदायका आवश्यकताहरू पहिचान गरि समाधानका लागि पार्टीमा सुझाव पेश गर्न समेत निर्देशन गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा मोर्चा फाँट प्रमुख विजय पौडेलले संगठन विस्तार गर्नु सक्रियता देखाउन पर्ने बताउनु भयो । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले संगठनहरूले पार्टी केन्द्रिय कार्यालयमा आफ्नो सुझाव पेश गर्दा प्रचार विभागलाई समेत जानकारीगराउँदा त्यसको प्रचार प्रसारमा सहयोग पुग्ने बताउनु भयो ।
संगठनका अध्यक्ष ताज मोहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले सचिवालयको बैठक आगामी फागुन १५ गते भित्र सम्पन्न गर्ने, प्रदेश कमिटीको बैठक यही माघ मसान्त भित्र सम्पन्न गर्ने, जिल्ला भेलाहरू आगामी चैत्र मसान्त भित्र सम्पन्न गर्ने , नयाँ सदस्यता वितरण कार्य फागुन देखि सुरु गर्ने , विधान मसौदा तत्काल छपाइ गर्ने, सदस्यता पत्र छपाइ कार्य अघि बढाउने साथै जिम्मेवार हेरफेर गर्दै मोहम्मद अव्दुललाईलुम्बिनी प्रदेशको इन्चार्ज साथै अनारकली मियाँलाई कर्णाली प्रदेशको इन्चार्ज तोकेको छ ।
कार्यक्रम सञ्चालन महासचिव अब्दुल खाँले सञ्चालन गर्नु भएको थियो । मुस्लिम इत्तेहाद संगठन नेपाल पदाधिकारीहरूले सुझाव तथा आफ्नो विचार राखेका थिए ।