- झलनाथ खनाल
पार्टीका केन्द्रीय विभागका कमरेडहरू तथा हाम्रा वर्गीय संगठनका अध्यक्ष र महासचिव
कमरेडहरू !
कमरेडहरू म सर्वप्रथम तपाईँहरूलाई हाम्रो पार्टीको केन्द्रीय कमिटीले बनाएको दस्तावेज
मस्यौदा समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।
- आज हामीले तपाईँहरूलाई विशेष उद्देश्यका साथ बोलाएका छौ । तपाईँहरूलाई थाहै छ हाम्रो पार्टी स्थापना भएको अहिले १ वर्ष र ५ महिना हुँदैछ ।
- हामीले सुरु मै आवश्यक दस्तावेजहरू बनाएर कम्तीमा पनि ती दस्तावेजहरूलाई राष्ट्रिय सम्मेलनबाट पारित गरेर अघि बढ्न पाएको भए पार्टी अहिले व्यवस्थित र विस्तृत हुने कुरालाई कसैले रोक्न सक्ने थिएन । तर हामी त्यता लाग्न सकेनौ । हाम्रा सामु एकपछि अर्को दायित्व र चुनौतीहरू थपिँदै गए। कहिले वार्ता र सहमतिको सबाल आयो, कहिले एम.सि.सि. को चुनौती आयो, कहिले स्थानीय निर्वाचनको चुनौती आयो र कहिले संघ र प्रदेशको निर्वाचनको चुनौती
आयो । ती चुनौतीहरुको सामना हामीले ठीक ढंगले गर्न सक्यौं कि सकेनौ । त्यो समग्र समिक्षाको विषय भएको छ । अब हामीले ती अनुभवहरूको गहिरो गरी समीक्षा गर्नुपर्ने आवश्यकता भएको छ ।
- हामीहरु नेकपा (एमाले) को दक्षिणपन्थी औसरवादी र अहंकारी नेतृत्वसँग विद्रोह गरेर पार्टी पुनर्गठन गर्दै अघि बढेका हौ । तर हामीले त्यो दक्षिणपन्थी औसरवादको तिखो ढंगले खण्डन, आलोचना र भण्डाफोर गर्न सक्यौं कि सकेनौ ? हाम्रो पार्टी समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगबाट नेपाली समाज अघि बढिरहेको छ भन्ने विश्लेषण गर्छ । तर हामीले समाजवाद तिर अघि बढ्ने हाम्रो लक्ष्यलाई प्रष्ट पार्न सक्यौ कि सकेनौ ? हामीले हाम्रा क्रान्तिकारी
कार्यदिशा, नीति र सिद्धान्तहरू सूत्रबद्ध रुपमा अघि सार्न सक्यौं कि सकेनौ ? ती विचारहरुले पार्टी पंक्तिलाई सचेत र सक्रिय बनाउन सक्यौं कि सकेनौ ? हाम्रो जनाधार किन व्यापक बन्दै जान सकेन ? हामीभित्र त्यस्ता के बैचारिकसंगठानात्मककमजोरीहरु रहे ? हाम्रो पार्टी र एमाले नेतृत्व गुटको औसरवादी कार्यदिशा र कार्यशैली बिच हामीले भिन्नताको रेखा कोर्न सक्यौं कि सकेनौ ? हाम्रा वर्गीय संगठनहरु पार्टी कार्यदिशा र नीति अनुरूप सक्रिय र गतिशील
हुन सकेका छन्कीछैनन् ? हाम्रो पार्टीसँग यतिबेला केन्द्र, प्रादेशिक, जिल्ला, पालिका र वडा गरेर ५ तले संगठन छ ।
यो संगठन समग्रमा नियमित रुपले परिचालित भई रहेको छ कि छैन ? हाम्रो पार्टी केन्द्रीय कमिटीका वरिपरि ३१ वटा केन्द्रीय विभागहरू रहेका छन् । ती विभागहरुमा मात्र पनि सयौँ कमरेडहरुसंगठित हुनु भएको छ । तर ती विभागहरुका नियमित बैठकहरू आयोजित भइरहेका छन् कि छैनन् ? हाम्रा विभागहरुले आफ्ना बैठकहरु कतिपटक गरेका छन् ? त्यतिमात्र होइन हाम्रा जनवर्गीय संगठन कत्तिको गतिशील र क्रियाशील भइ रहेका छन् ? यो १५÷१६ महिना र त्योभन्दा अघिबाट पनि हामीले हाम्रा जनसंगठनहरुका केन्द्रीय कमिटीका बैठकहरु कतिपटक गर्यौ ? हामीले संगठनलाई देशभरी फैलाउन कत्तिको सफल भएका छौं ? जनसंगठनहरु भित्र हामीले पहिलेदेखि नै स्थापित गरेर ल्याएको ठाडो र तेस्रो नेतृत्वलाई विकास गर्ने र स्थापित गर्ने कामलाई अघि बढाउन सकेका छौ कि छैनौं ?
हाम्रो सदस्य संख्या कति छ, त्यसको लेखा राखिएको छन्छैनन ? हाम्रा विभागहरु र जनवर्गीय संगठनहरु पार्टी कार्यदिशा अनुरुप चलिरहेका छन्की छैनन् ? पार्टी केन्द्रका तर्फबाट विभाग र वर्गीय संगठनका कामहरूका बारेमा अनुगमन वा विशेष निर्देशन भइरहेको छ कि छैन ? ३-४ महिना अघि पार्टी दर्ता गर्ने पहिले कहिल्यै नसुनिएका कतिपय पार्टी राष्टिय पार्टी भएर वकाइदा सत्ताका महत्त्वपूर्ण स्थानमा पुग्नसक्ने तर यति लामो ऐतिहासिक लिगेसी भएको र विद्रोहबाट अघि बढेको हाम्रो पार्टी राष्टिय पार्टी पनि किन बनाउन सकिएन ? यी यस्ता केही
गम्भीर प्रश्नहरु छन् जो हामी आफै तिर फर्केका छन् र तिनीहरु हाम्रो दोटुक जवाफ खोजिरहेका छन् । हामीले यी सबै प्रश्नहरूको वस्तुसँगत, सिद्धान्तसंगत र तर्कसंगत जवाफ दिन सक्नुपर्छ ।
- यस्ता प्रश्नहरु उठ्नु बिल्कुल राम्रो कुरा हो । यस्ता प्रश्नहरुले हाम्रो कार्यकर्ताहरुमा आइरहेको जागरूकतालाई जगाउँछ । यस्ता प्रश्नहरू उठाएर हाम्रो पङ्क्तिलाई जागरुक बनाउनुपर्ने आवश्यकतालाई पनि जनाउँछ । त्यसैले अहिले यी प्रश्नहरू तपाईंहरुबाट यहीँ भेलामा जबाफ दिनुपर्छ भनेर उठाएको होइन । तपाईंहरू आफ्ना दायित्व र कर्तव्यमा कतिको जागरूक हुनुहुन्छ भनेर घच्घच्याउन खोजेको मात्र हो । कुनै पनि संगठन, कमिटी, विभाग वा मञ्च बनाइदिएर वा बनाएर मात्र पुग्दैन । तिनीहरूलाई निरन्तर परिचालित गरिरहनु, तिनीहरूलाई बदलिदो परिस्थिति अनुरुप मार्गदर्शन गरिरहनु, आफ्ना काम र कर्तव्यलाई अघि बढाइ रहनु र सिद्धान्त वा नीतिलाई व्यवहारमा लागु गरिरहनु, हम्रो गतिशील कर्तव्य हो। त्यसरी मात्र हामीहरू आ -आफ्ना संगठन, कमिटी, विभाग वा मञ्चका कामहरुलाई यथोचित रुपले अघि बढाइरहन सक्छौं ।
- तपाईँहरूलाई थाहा छ, हामीले ०६२÷६३ को परिवर्तनको क्रममा नेपालमा पुँजीवादी जनवादी क्रान्तिलाई पूरा गरेका छौं । त्यसपछि हाम्रो मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्दैछ । समाज वस्तुगतरुपले अर्धसामन्ती अवस्थाबाट पुँजीवादी अवस्थामा बदलि सक्यो । तर त्यो जनक्रान्ती गर्ने कम्युनिष्ट पार्टी भने अहिले विभाजनको अवस्थाबाट गुज्रिरहेको छ । कम्युनिष्ट आन्दोलनको सङ्गठित हिस्सा मध्ये ठूलो हिस्सामा दक्षिणपन्थी औसरवाद नराम्रो ढङ्गले जमेर बसेको छ । कोही जबज हाम्रो मार्गदर्शन सिद्धान्त भन्छन्। कोही जबज नै समग्र नेपाली
क्रान्तिको मार्गदर्शक सिद्धान्त समेत हो भन्छन्। कोहि जबज नै अबको पनि लक्ष्य हो भन्छन्। कोही हाम्रो मार्गदर्शक सिद्धान्त माओवाद हो भन्छन् । कोही जनमत संग्रह विना क्रान्ति अघि बढ्न सक्दैनन्भन्छन्। कोहि जनवादी क्रान्ति त पुरा भयो तर सामन्ती अवशेष अझै व्यापक रूपमा छ भन्छन् तर त्यसको ठोस रुप के छ त त्यो चाहिँ बताउँदैनन् ।
अझ कोही अब बहुदलीय समाजवादलाई लक्ष्य बनाउनु पर्छ भन्छन् । तर उनीहरु समाजमा बहुदलीयताकोउत्पत्ति, विकास र त्यसको अन्त्यको प्रक्रिया के हुन्छ ? समाजवादमा बहुदलको आवश्यकता, भूमिका र उद्देश्य के हुन्छ भन्ने कुरालाई वर्ग दृष्टिकोण, द्वन्द्ववाद र ऐतिहासिक भौतिकवादी दृष्टिकोणले चाहिँ हेर्दैनन । यी कुराहरु आज हामीले समाजवादको लक्ष्य तिर अघि बढ्ने बाटोमा देखा परिरहेका वैचारिक सैद्धान्तिक छेकबार र अवरोधहरु हुन । यी गैरमाक्र्सवादी गलत चिन्तनका एक वा अर्का रुपहरु हुन । यस्ता गलत विचार र दृष्टिकोणहरूको हामीले सर्वहारा वर्गीय दृष्टिकोणको उचाइमा उभिएर गहन र तर्कसंगत ढंगले खण्डन गर्न सक्नुपर्छ । त्यसरी मात्र हाम्रो बाटो छ्याङ्ग हुन्छ । तवमात्र हाम्रो समाजको लक्ष्य प्रष्ट हुन्छ । त्यसो भयो भने मात्र हाम्रो कार्यकर्ता र युवाहरु दृढ र उच्च मानसिकताका साथ अघि बढ्न थाल्नुहुन्छ र आम जनताका बीचमा हाम्रो प्रचार, संगठन र संघर्षको प्रवाह बढ्न थाल्छ । त्यति मात्र होइन त्यो दिन दुइ गुना रात चौगुनाको हिसाबले वृद्धि हुन थाल्छ । अनि देशमा समाजवादी क्रान्तिको
आत्मगत शक्ति पनि बलियो हुँदैजान्छ । क्रान्तिका निम्ति वस्तुगत अवस्था मात्र भएर पुग्दैन आत्मगत शक्ति सशक्त बनाएर मात्र क्रान्तिकारी संघर्षको प्रवाह अघि बढ्न सक्छ । हामीले यस कुरालाई गंभीरता पूर्बक लिनुपर्छ ।
- अर्को कुरा तपाईं हामीलाई थाहा छ कुनैपनि राजनीतिक पार्टीको वैचारिक राजनीतिक कार्यदिशा,नीति र सिद्धान्त सही वा गलत हुने कुराले नै त्यो पार्टीको अग्रगति र अधोगति निश्चित गर्छ । कुनैपनि पार्टीको वैचारिक राजनीतिक कार्यदिशा ठिक छ भने सानो पार्टी क्रान्तिकारी गतिले ठूलो हुन्छ, कमजोर पार्टी बलियो पार्टीमा बदलिन्छ, सत्तामा नरहेको पार्टी सत्तामा पुग्छ तर कुनै पनि पार्टीले गलत वैचारिक राजनीतिक कार्यदिशा लिन पुग्यो भने त्यो बलियो पार्टी भएपनि कमजोर हुन्छ, एकता बाट विभाजन तिर जान्छ, गलत कुरा सच्याउन सकेन भने अन्तिम रुपमा यस्तो पार्टी समाप्त हुँदै जान्छ । सोभियत सङ्घको कम्युनिष्ट पार्टीबाट हामी सिक्न सक्छौं र पहिलेको संसदमा दुईतिहाइ बहुमतको कमाण्ड गर्ने नेकपाबाट पनि सिक्न सक्छौं । हामीले हाम्रै अगाडिका यस्ता घटनाबाट सिक्नु पर्छ र पार्टी र क्रान्तिका वैचारिक राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तलाई सहि र क्रान्तिकारी धरातलमा उभ्याउने कुरामा सबैभन्दा बढी ध्यान दिनुपर्छ । यी कुराहरु सही भए भने हाम्रा प्रयत्नहरू सही हुन्छन्, हाम्रा व्यवहारहरु सही हुन्छन्, निष्क्रिय व्यक्तिहरु पनि सक्रिय हुन्छन् र क्रान्तिकारी प्रवाहमा गति आउँछ । अझ अघि बढेर जनतामा जागरूकता बढ्न थाल्छ, हाम्रा विभाग र वर्गीय संगठनहरुमा पनि गति आउँछ । अनि हाम्रो पार्टीले राष्ट्रिय पार्टीको मापदण्ड पुरा गर्न किन
सक्दैन ? एकपटक मात्र होइन त्यसरी काम गर्न सकेको खण्डमा हाम्रो पार्टीले भनेकों त्यस्ता मापदण्ड पुरा गर्नसक्छ । अनि पो एउटा सशक्त र जुझारु क्रान्तिकारी शक्तिका रूपमा हाम्रो पार्टी विकसित, विस्तृत र सुदृढ हुँदै जान्छ र राष्ट्रिय राजनीतिमा स्वतन्त्र रुपले सशक्त भूमिका खेल्न सक्छ ।
- त्यसकारण अब हामीले हाम्रो पार्टीलाई सोही कार्यदिशाका साथ संस्थागत रुपले र गतिशील ढंगले अघि बढाउनुपर्ने आवश्यकता छ । अहिलेसम्म हाम्रो पार्टी निमित्त पार्टीका रुपमा क्रियाशील छ । हाम्रो केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीहरु, पालिका कमिटीहरु र वाड कमिटीहरु सबै नै माथिबाट मनोनयन गरिएका कमिटीहरु मात्र छन् । हाम्रा वर्गीय संगठनहरु पनि त्यस्तै छन्। यी सबै कमिटी र संगठनहरुलाई अब हामीलेसम्बन्धित कमिटी र संगठनका अधिवेशन वा राष्ट्रिय सम्मेलनहरु गर्न अत्यन्त जरुरी भइसकेको छ । मनोनीत गरिएका टिके नेताहरु वा संगठनहरुमा स्वतन्त्ररुपले, सिर्जनशील रुपले र गतिशील ढंगले सोच्ने र काम गर्ने सक्रियता र पहलकदमी प्रकट हुन कठिन हुन्छ । त्यस्ता नेता, कमिटी वा संगठनहरु जनताप्रति वा आ–आफ्ना अधिवेशन प्रति जिम्मेवारी हुँदैनन्, तर उनीहरू जसले
नियुक्ति गरेको हो त्यतैपट्टि मात्र जिम्मेवार हुन्छन्र अनुगृहित हुनपुग्छन्। जब आफ्ना स्तरका अधिवेशन वा सम्मेलनहरु हुन्छन् । त्यहाँबाट नेता र कमिटीहरु अनुमोदित हुन्छन्, निर्वाचित हुन्छन् तब उनीहरु स्वाभाविक रूपले ती अधिवेशन वा सम्मेलनहरू प्रति र उनीहरुका प्रतिनिधिहरु प्रति उत्तरदायी हुन्छन् । यस्तो अनुमोदन र निर्वाचन हाम्रो पार्टी संगठन वा कमिटीहरु निर्माण गर्नका निम्ति अत्यन्त महत्वपूर्ण कडी हो ।
त्यसकारण अब हामीले हाम्रो पार्टी र हाम्रा वर्गीय संगठनहरुको पनि आजको एडहक स्थिती वा निमित्त स्थिति वा कामचलाउ स्थितिलाई अविलम्ब तोड्न आवश्यक भएको छ । त्यसकालागि हामीले पार्टीको अविलम्ब राष्ट्रिय महाधिवेशन गर्नुपर्छ । पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम र विधिविधान सबैलाई सस्थागत बनाउनुपर्छ । हाम्रा वर्गीय संगठनका पनि राष्ट्रिय सम्मेलनहरु आयोजित गर्नुपर्छ । लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व अर्थात् जनअनुमोदित नेतृत्व निर्माण गर्नुपर्छ । हाम्रा संगठन कमिटीहरु चुस्त, दुरुस्त, छरिता र कामकाजी बनाउनुपर्छ । तब मात्र पार्टीको सबल नेतृत्वमा जनाताको क्रान्तिकारी प्रवाह गतिमान हुनसक्छ ।
- यसरी हामी राष्ट्रिय महाधिवेशनहरु वा सम्मेलन तिर जाने भएपछि ती मञ्चहरुबाट पारित गर्ने दस्तावेजहरू निर्माण गर्ने काममा हामीले कम्मर कसेर लाग्नु जरुरी हुन्छ । हाम्रो पार्टीको आउने राष्ट्रिय महाधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनको यो नयाँ परिस्थितिमा एउटा ऐतिहासिक महाधिवेशन हुनेछ । यो सम्पूर्ण नेपाली जनता र सबै कम्युनिष्ट क्रान्तिकारीका निम्ति एउटा जिज्ञासाको विषय हुनेछ । जो वैज्ञानिक समाजवादका निम्ति संघर्ष गरिरहेका छन् । उनीहरूका निम्ति नयाँ आशा र प्रेरणाको महाधिवेशन पनि हुनेछ र त्यसले नेपाली समाजवादी क्रान्ति र रुपान्तरणको प्रक्रियालाई नयाँ धरातलबाट मार्गदर्शन गर्नेछ ।
- त्यसैकारण कमरेडहरू हामीले यो पार्टी महाधिवेशनको तयारी अत्यन्त गहन, गहिरो र जिम्मेबारी पूर्ण ढंगले अघि बढाउनुपर्दछ ।
- हामीले प्रथमतः उक्त महाधिवेशनबाट नेपाली क्रान्तिको विकासक्रम,त्यसका दुई ऐतिहासिक चरणहरु, जनबादी क्रान्तिको समापन र नेपाली समाज समाजवादी क्रान्ति र रुपान्तरणको चरणमा आएको कुरालाई तर्कसंगत ढंगले विश्लेषण अघि सार्नु पर्छ ।
- दोस्रो, आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको र विकसित भइरहेका नयाँ प्रवृत्तिहरूको ठोस विश्लेषण गर्नुपर्छ ।
- तेस्रो समाजवादी क्रान्तिको समग्र कार्यदिशा, नीति र सिद्धान्तको शृंखला अघि सार्नुपर्छ । जसले सम्पूर्ण २ करोड ९२ लाख नेपाली जनतालाई समाजवादको महान्लक्ष्य तिर मार्गदर्शन गर्न सकोस् ।
- चौथो, नेपाली समाजको विद्यमान ठोस वर्गीय स्थितिको विश्लेषण गर्नुपर्छ र नेपाली समाजको प्रधान अन्तर्विरोध के हो भन्ने कुरालाई प्रष्ट रुपले किटानी गर्नुपर्छ ।
- पाँचौ, नेपाली क्रान्तिको नेतृत्वदायी शक्ति, प्रमुख शक्ति, सहायक शक्तिहरु र ढुलमुले शक्तिहरू को हुन्, उनीहरूको क्रान्तिमा भूमिका कस्तो हुन्छ र त्यसलाई कसरी उजागर गर्नुपर्छ भन्ने कुरालाई प्रष्ट पार्नुपर्छ ।
- छैठौं, समाजवादी क्रान्तिका तीन आधारभूत र प्रमुख हतियारहरू के हुन र तिनीहरूको निर्माण कसरी गर्नुपर्छ भन्ने कुरालाई त्यति कै प्रष्टताका साथ अघि सार्नुपर्छ ।
- सातौं, समाजवादी क्रान्तिको रणनीति, कार्यनीति र कार्यनीतिक कार्यदिशाका वारेमा पनि सूत्रबद्ध रुपले पार्टीका धारणा अगाडि सार्नुपर्छ ।
- आठौं,राष्ट्रिय महाधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य समस्या दक्षिणपन्थी औसरवाद, अहंकारवाद र गुटवाद हो भन्ने कुरालाई छर्लङ्ग पार्नु पर्छ र त्यो औसरवादसँग हाम्रो पार्टीका वैचारिक सैद्धान्तिक भिन्नताहरू यी हुन्भनेर किटान पनि गर्नुपर्छ । तव मात्र विचारधारात्मक संघर्षलाई गहिरो र प्रष्ट पार्न सकिन्छ ।
- नवौं, हामीले १५ महिनाअघि दक्षिणपन्थी औसरवादका विरुद्ध विद्रोह गरेका कारणहरु यी थिए र त्यो विद्रोहको औचित्य यो हो भनेर वैचारिक, सैद्धान्तिक र संगठनात्मक रुपले पुष्टि गर्नुपर्छ । त्यो काम हामीले आझै गर्न सकेका छैनौं ।
- दशौं,हामीले हाम्रो संगठनका सिद्धान्तहरु, पार्टी भित्रको लोकतन्त्र, पार्टी र जनसङ्गठन बीचका सम्बन्धहरु, पार्टी र संसद वीचका सम्बन्धहरु, पार्टी र सरकार बीचका सम्बन्धहरु आदिलाई मार्गदर्शन गर्ने प्रष्ट बिधी र बिधानहरु अघि सार्नुपर्छ र हाम्रो पार्टीलाई नीति सम्मत र विधिसम्मत ढङ्गले निर्माण गर्ने कार्यमा दृढ भएर लाग्नुपर्छ । हामीले पार्टी कमिटीहरु, विभागहरू र जनसंगठनहरुका कार्यभारहरु, उनीहरुका संगठनात्मक ढाँचाहरू र उनीहरुका परिचालनका विधिहरूका बारेमा पनि समृद्ध अवधारणाहरु अघि सार्नुपर्छ ।
-एघारौं, हामीले हाम्रो पार्टीको विकास, विस्तार र सुदृढीकरणमा प्राथमिकताकासाथ लाग्नुका साथै वर्तमान नेपालमा रहेका अन्य कम्यूनिष्ट समूहहरुसँग संगठनात्मक एकताका निम्ति ठोस मापदण्ड अघि सार्नुपर्छ, वैचारिक–राजनीतिक एकरुपता हुनेसँग पार्टी एकिकरण समेत गर्नुपर्छ । जो सँग यो वा उ सवालमा मतभेद छ तिनीहरुसँग मिलेर देशभक्त, प्रगतिशील र वामपन्थी मोर्चा निर्माण गर्ने कामलाई समेत योजनावद्ध रुपले अघि बढाउनुपर्छ ।
- बाह्रौँ, यी सबै कुराहरु गर्नुको साथसाथै हामीले सर्वोपरी रुपमा समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य नेपाली विशेषताको समाजवादको विशिष्ट कार्यक्रम अघि सार्नु पर्छ । त्यो कार्यक्रम नै सिंगो क्रांतिको कालभरि फहराई रहने झण्डा जस्तो हुनेछ र आमजनताको आकर्षणको विषय पनि हुनेछ । यतिबेला हाम्रो सिंगो पार्टीपंक्ति भरि त यो नेपाली विशेषताको समाजवादको व्यापक माग छदैछ र नेपालका सम्पूर्ण सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुका विचमा पनि यो ठूलो कौतुहल र मागको विषय बनेको छ । त्यसकारण हामीले नेपाली विशेषताको समाजवादका बारेमा वडो गहिरो गरि अध्ययन, विश्लेषण र संश्लेषण गर्नुपर्छ । नेपाली विशेषताको समाजवाद भनेको हामीले अन्य कुनै माक्सवादी ग्रन्थमा पढ्न पाइने कुरा होइन । कुनै माक्सवादी नेताहरुले निर्देशन दिइसकेर हामीले अनुसरण गर्नुपर्ने विषय पनि
होइन । यो नेपालका कम्युनिष्टहरुले अध्ययन गर्नुपर्ने र निष्कर्ष निकाल्नुपर्ने नितान्त नयाँ विषय हो । हामीले वर्तमान अन्तराष्ट्रिय परिस्थितिहरूको परिपेक्ष्यमा नेपाली समाजको ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि सार्नुपर्ने निष्कर्ष हो । क्रान्तिको कार्यभार सम्बन्धि अवधारणा आफ्नो शक्ति कत्रो छ भन्ने आधारमा होइन, आफ्नो अगाडिको समाजको वस्तुगत स्थिति के छ भन्ने आधारमा निर्धारण गर्नुपर्छ । त्यस्तो कार्यक्रम अघि सारेपछि नै त्यो लक्ष्य प्राप्त गर्नका निम्ति प्रचार, संगठन र संघर्षका कार्यलाई अघि बढाउने क्रममा क्रान्तिको आत्मगत शक्ति पनि वृद्धि हुँदै जान्छ । हामी त्यस प्रकृयाबाट अघि बढ्दै संघर्षको एउटा ऐतिहासिक अन्तरालपछि नेपाली विशेषताको समाजवाद-वैज्ञानिक
समाजवादलाई व्यावहारमा लागू गर्ने अवस्थामा पुग्छौं ।
- तेर्हौं,नेपाली विशेषताको समाजवादको जुन कार्यक्रम हामीहरु निर्माण गर्न गईरहेका छौं, त्यसका दुईवटा आधारभूत पक्षहरु हुनेछन् । पहिलो, त्यस्तो कार्यक्रमको आवश्यकता, औचित्य र सम्भाव्यता सम्वन्धी सैद्धान्तिक पक्षको विश्लेषण र संश्लेषण गर्नेछ । त्यसले नेपाली क्रान्तिको वर्तमान चरण, नेपाली समाजको वतमान चरित्र, यसको वर्गीय स्थिति, नेपाली समाजका विद्यमान अन्तरविरोधहरू, यहाँ विद्यमान विभिन्न राजनीतिक शक्तिहरू, क्रान्तिका कार्यदिशा, रणनीति र कार्यनीतिहरू र क्रान्तिको दिशा लगायतका विभिन्न सैद्धान्तिक पक्षको विश्लेषण र संश्लेषण हुनेछ । दोस्रो, त्यो नेपाली विशेषताको समाजवादको ठोस व्यवहारिक मागहरूहरुका वारेमा भने सूत्रबद्ध रुपले अवधारणा र नीतिहरू अघि सारिने छन्। यसमा नेपाली समाजलाई वर्तमान पुँजीवादी अवस्थाबाट समाजवादी अवस्थातिर बदल्न हाम्रो भूमि नीति कस्तो हुनेछ ? हाम्रो कृषि नीति के हुनेछ ? हाम्रो औद्योगिक नीति के हुनेछ ? हामीले शिक्षा, स्वास्थ्य, सञ्चार, सामाजिक सेवाका क्षेत्रमा कस्ता नीति अघि सार्ने छौं ? समाजवादमा हाम्रो पूर्वाधार कस्तो बनाइनेछ ? वातावरणको संरक्षण कसरी गरिनेछ ? अन्तरराष्ट्रिय जगतसँग आर्थिक र व्यावहारिक सम्बन्ध कायम गर्नका निम्ति पारवहन सुविधा कस्तो हुनेछ ? हाम्रो विदेश नीति के हुनेछ ? समाजवादमा ज्येष्ठ नागरिक, युवाहरु, बालबालिकाहरू, महिलाहरु, बिभिन्न जनजातिहरु, अल्पसंख्यकहरु प्रतिको नीति कस्तो हुनेछ? आदि नेपाली समाजमा बहुआयामिक पक्षका हाम्रा व्यावहारिक मागहरूलाई सूत्रबद्ध र सम्वृद्ध रुपमा अघि सार्नुपर्छ । तवमात्र नेपाली समाजका सबै
वर्ग र तहका जनतालाई एकसाथ वैज्ञानिक समाजवादको लक्ष्य तिर अघि बढाउन सकिन्छ ।
- त्यसकारण कमरेडहरु, अहिले तपाईंहरु हाम्रो गौरवमय पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीका वरिपरि विभिन्न विभागहरुमासंगठित हुनुहुन्छ । यि सवै विभागहरू अलग-अलग कमिटी त होइनन्तर तिनीहरु पार्टी केन्द्रीय कमिटीलाई आ-आफ्नो क्षेत्रबाट सहयोग र सल्लाह दिने महत्वपूर्ण निकायहरु हुन्। ठीक त्यही हैसियतमा पार्टी केन्द्रीय कमिटीको तर्फबाट गठित यो दस्तावेज मस्यौदा समिति आज तपाईहरुसँग विचार–विमर्श गर्न अघि आइपुगेको छ । ठीक त्यसरी नै पार्टीका मातृ र भगिनी संगठनका रुपमा रहेका वर्गीय संगठनहरुसँग पनि हामीले विचार विमर्श गर्न चाहेका छौं । हामीले निर्माण गर्ने नेपाली विशेषताको कार्यक्रमका खासगरी व्यवहारिक मागका सम्बन्धमा तपाईहरुका सुझावहरु सूत्रबद्ध रुपमा प्राप्त गर्ने हाम्रो चाहना हो । त्यसका निम्ति सबै विभागहरू र सवै वर्गीय संगठनहरुले आ-आफ्ना बैठकहरु गर्नुपर्छ, आफ्नो विभाग वा संगठनले समाजवादमा पुग्दा लागू गर्नुपर्ने आफ्ना मागहरु के हुनुपर्छ ? त्यस बारेमा आपसमा छलफल गरी आफ्ना मागहरुलाई लिखित रुपमा सूत्रबद्ध गरेर मस्यौदा
समितिलाई दिनुपर्छ । ताकि हाम्रो नेपाली विशेषताको समाजवादी कार्यक्रम एउटा ठोस, वैज्ञानिक र आमूल परिवर्तनकारी कार्यक्रमका रुपमा जनसमक्ष ल्याउन सकियोस्। यद्यपि हाम्रो व्यावहारिक मागहरु मध्ये आधारभूत पक्षहरु क्रांतिको सिङ्गो कालभरि अपरिवर्तनीय रहन्छन् । तर हाम्रा व्यवहारिक मागका पक्षहरु भने बदलिदो परिस्थिति मा बदलिन सक्छन् । कतिपय मागहरु जनदवाव र हाम्रो संघर्षले पूराहुन पनि सक्छन् । ती हाम्रा क्रान्तिका सहउत्पादन
हुनेछन् । अर्कोतिर हाम्रा सामु थप नयाँ मागहरु पनि प्रकट हुन सक्नेछन्। त्यस्ता पक्षहरूलाई पार्टीले आफ्नो नियमित महाधिवेशनहरुबाट समाहित गर्दै हाम्रा मागहरु लाई परिस्कृत र परिमार्जित गर्दै अघि बढ्नुपर्छ । तर यी सबै कुराका साथसाथै नेपाली विशेषताको समाजवादको कार्यक्रम नेपाली समाजवादी क्रांतिको सिंगो कालखण्ड भरि रहनेछ । महाधिवेशनबाट अघि सारिने हाम्रो कार्यक्रम आमरुपमा प्रचारात्मक चरणबाट अघि बढ्ने छ । त्यसका कतिपय
व्यावहारिक मागका पक्षहरु भने तत्काल कार्यान्वयनका निम्ति पनि हुनेछन्। तर जब क्रान्तिको आत्मगत शक्ति पर्याप्त मात्रामा विकसित हुनेछ र समाजवादी कान्तिकारी शक्ति सत्तामा पुग्ने स्थिति आउने छ तब हाम्रो कार्यक्रम प्रचारात्मक बाट क्रियात्मक कार्यक्रममा रूपान्तरित हुनेछ र नेपाली समाजमा आमुल परिवर्तन गर्दै समाजवादी कार्यक्रमलाई क्रमश कार्यान्वयन गरिनेछ । यसरी हाम्रो देश ऐतिहासिक रुपले समाजवादको बाटोमा अघि बढ्ने ठाउँमा पुग्ने छ ।
त्यसैकारण कमरेडहरु, नेपाली विशेषताको समाजवादको कार्यक्रम बनाउन आ-आफ्नो तर्फबाट योगदान गरौं र नेपाली समाजवादी क्रान्तिको समृद्ध कार्यक्रमको निर्माण गरौं ।
दस्ताबेज मस्यौदा समितिले आयोजना गरेको छलफल तथा परामर्श कार्यक्रमा “दस्ताबेज मस्यौदा समिति”का संयोजक क.झलनाथ खनालले प्रस्तुत गर्नुभएको अबधारणाहरु )
समय -०४ माघ २०७९
स्थान -पार्टी केन्द्रिय कार्यलय,आलोकनगर