विराटनगर भदौ १८
नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले बालुवाटारमा बालुवा पेलेका पेल्यै भएपनि त्यो बालुवाबाट तेल ननिस्केको बताउनु भएको छ ।
शनिबार विराटनगरमा आयोजित पेशागत महासङ्घको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यै छौं, त्यो बालुवाबाट तेल निस्किएको छैन भन्दै आज पनि पेल्नुपर्ने हो कि ? भन्नुभयो ’नेपाली कांग्रेसका कारण सिट बाँडफाँड टुङ्गो नलागेको बताउँदै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका कारण गठबन्धनमा सिट बाँडफाँड टुंगो नलागेको पनि बताउनु भयो ।
‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेस , ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरू बाँड भन्छ । हामीले उनीहरूलाई जवाफ दिएका छौं, हैसियत भन्दा बढी माग्ने काम नगर ।’ २०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुना सम्म दिन सक्ने उहाँले बताउनु भयो । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ ,‘हामी ७० भन्दै छौं, उनीहरु सय भन्दैछन् मिलाउन गाह्रो छ ।’
सहमतिको प्रयास जारी रहेको बताउँदै अध्यक्ष नेपालले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताउनु भयो । समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै नेपालले भन्नुभयो ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताउनु भयो । उहाँले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने भन्दै ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भन्नुभयो ।