वीरगंज, साउन १८
समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । वीरगंज स्थित नगर सभा गृहमा सम्पन्न अधिवेशनमा मनोज पटेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
संगठनको उपाध्यक्षमा शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिवमा अजय कुमार चौरसिया, सह सचिवमा विनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरूमा नरेश सर्राफ, सन्तोष साह, दिपक कुशवाहा, शयाम पासवान, दिपेन्द्र गिरी, रामेश्वर चौरसिया, श्याम सर्राफ, अनुप यादव, सरोज पटेल लगायत निर्विरोध चयन हुनुभएको छ ।
यसैगरी अधिवेशनले प्रदेश प्रतिनिधिमा जिल्ला कार्य समितिका सम्पूर्ण पदाधिकारी पदेन प्रतिनिधि रहने गरी थपमा संजय साह, नरेश सर्राफ, सन्तोष साह, आशमहमद मियाँ र दिपक चौरसियालाई पनि निर्विरोध चयन गरेको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा अध्यक्ष मनोज पटेल, उपाध्यक्ष प्रकृति अधिकारी र सचिव अजय कुमार चौरसियालाई पनि निर्विरोध चयन गरेको छ । अधिवेशनको उद्घाटन पूर्व मन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सचिव नागेन्द्र चौधरीले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सचिव चौधरीले पर्सेली पत्रकारहरूको क्षमता वृद्धि जरुरी रहेको बताउनु भयो । उहाँले काठमाडौंको मिडिया हाउसहरु विकास गरे पनि गौरीगञ्जको मिडिया हाउसहरु त्यसको तुलनामा विकास गर्न नसकेकोमा दुखेसो समेत पोख्नुभयो । सचिव चौधरीले पत्रकारहरुलाई हुँदै नभएको समाचार लेखेर कसैको चरित्र हत्या नगर्न पनि आग्रह गर्दै तथ्यको आधारमा सत्य समाचार लेख्न मात्र आग्रह गर्नुभयो।
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले सञ्चार माध्यम प्रतिको विश्वास खस्न नदिने गरी समाचार लेख्न आग्रह गर्नुभयो । पत्रकारलाई विना तथ्य प्रमाणको कसैको चरित्र हत्या नगर्ने गरी समाचार लेख्न सुझाउनु भयो । मन्त्री महतो लोकतन्त्र र समाजवादको पक्षमा पत्रकारहरुलाई कलम चलाउन आग्रह गर्दै मधेश प्रदेश सरकार जहिले प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो ।
समाजवादी प्रेस संगठनका उपाध्यक्ष एवम् नेकपा एकीकृत समाजवादीका प्रचार विभागका सचिव प्रकाश खतिवडाले आफूहरू समाजवादी क्रान्तिको यात्रामा रहेको भन्दै पत्रकारिता जहिले पनि समाज रूपान्तरणको लागि हुनु पर्ने बताउनु भयो ।
संगठन पर्साका अध्यक्ष पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिट ब्युरो सदस्य एवम् पर्सा इन्चार्ज रामचन्द्र साह, पोलिट ब्युरो सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी अचार्य, महासचिव भुपराज खड्का, सचिव एवं मधेश प्रदेशका इन्चार्ज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साह, मधेस प्रदेशका सह इन्चार्ज राघव साह, मधेश प्रदेशका संयोजक बृजलाल पासवान, केन्द्रीय सदस्य रमेश सुवेदी, रेविन्द्र कार्की, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, वीरगंज पब्लिक कलेजका सञ्चालक डा. दिपक शाक्य, नेकपा एकीकृत समाजवादी पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकोठे मगर लगायतको उपस्थिति रहेको थियो ।
संगठन पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अजय चौरसियाले गर्नुभएको थियो ।