काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक भोलि फेरी बस्नेगरी स्थगित भएको छ।
शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छैटौँ केन्द्रीय सचिवालय बैठकमा नेताहरूले पार्टी अध्यक्षमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धा, समसामयिक राजनीतिक अवस्था, दोस्रो चरणको आन्दोलन र पार्टीको आन्तररिक गतिविधिका बारेमा बैठकमा छलफल भएको थियो।
‘मुद्दाका सन्दर्भमा वक्ताहरूले आफ्ना कुरा राख्नुभयो। खासगरी पतञ्जली प्रकरणमा पार्टी अध्यक्षलाई फसाउने योजनाले मुद्दा दर्ज गरियो। सबै वक्ताहरूको निष्कर्ष हाम्रो पार्टीमा पहिलेदेखि षड्यन्त्रको शृङ्खलाका रूपमा झुटो मुद्दा लगाएको निष्कर्ष छ’, ज्वालाले भन्नुभयो, ‘यो हाम्रो पार्टी र सादगी हाम्रो पार्टी अध्यक्षलाई मुद्दा लगाउनु षडयन्त्र र योजनाबद्ध छ भन्ने निष्कर्ष छ।’
बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आन्दोलनको विश्लेषण, पार्टी कमिटीको अधिवेशनको समीक्षालगायत एजेन्डा तय भएका थिए। तिनै एजेन्डामा छलफल सुरु भएको र भोली पुन बस्ने ज्वालाले जानकारी दिनुभयो।
बैठकले तीनवटा प्रस्ताव पारित गरेको छ। जसमा उखु उत्पादक किसानलाई अनुदान बन्द गरेकोमा सरकारलाई उक्त निर्णय फिर्ता गर्न सरकारसँग माग गरेको भने रोपाईंका बेला किसानलाई मल अभाव भएकाले अविलम्ब मल वितरण गर्न माग गरेको छ। त्यस्तै अधिक वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै विपत् पूर्व तयारी गर्न र साधन स्रोतको उचित व्यवस्था गर्न माग पनि गरेको छ।
