काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना सन्देश जारी गर्नुभएको छ।
बिहिबार जारी विज्ञप्तिमा भनिएको छ, 'विश्वभरिका श्रमिक जनताको ऐतिहासिक दिवस पनि हो । श्रमिकहरूले आफु माथि भइरहेको शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध महत्वपूर्ण विजय प्राप्त गरेको दिन पनि हो । त्यसरी नै आज नेपाली श्रमिकहरूको पनि ऐतिहासिक दिवसको दिन हो । यस ऐतिहासिक दिवसको अवसरमा म सर्वप्रथम नेपालका समस्त श्रमजीवि जनताका मुक्तिका निम्ति तथा अग्रगति,प्रगतिका निम्ति अझ ठूला सफलताहरू प्राप्त गर्न सकियोस् भन्नका निम्ति हार्दिक शुभकामना प्रकट गर्दछु।
श्रमिक वर्गले नै नेपाली समाजको क्रान्तिकारी रूपान्तरण र परिवर्तनको नेतृत्वदायी शक्तिको भूमिका खेल्न सक्छ । हाम्रो देशमा श्रमिक वर्गले आफ्नो अग्रदूत नेपाल कम्युनिष्ट पार्टी मार्फत नेपालको पुँजीवादी–जनवादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरिसकेको छ । अहिले हामी समाजवादी क्रान्ति र रूपान्तरको नयाँ ऐतिहासिक प्रक्रियाबाट अघि बढिरहेका छौं । देशमा पुँजीवादी क्रान्ति भएको पनि १९ वर्ष भइसकेको छ । जनताको आर्थिक अबस्था सुधार हुनुको सट्टा श्रमिक वर्ग माथि दलाल पुँजीवादी शोषण र उत्पीडन झन झन चर्को बन्दै गएको छ । मुलुकको कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत राष्ट्रियताका क्षेत्रहरू संकटग्रस्त बन्दै गएका छन । श्रमजीवि जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, बीमा र सामाजिक सुरक्षा मात्र पनि पाउन सकिरहेका छैनन् । त्यसले गर्दा हाम्रो देशका युवा श्रमिकहरु प्रति दिन हजारौँको संख्यामा रोजगारीको खोजिमा विदेश जान बाध्य भइरहेका छन ।
त्यसै कारण सम्पूर्ण श्रमिक जनसमुदायहरु,
हामीहरू वर्गीय रूपले अझ बढी सचेत र संगठित बनौं, आफ्ना वर्गीय हित,हक र अधिकारका निम्ति अझ बढी सचेत बनौँ, आफ्नो पंक्तिलाई गोलबद्ध गरौं, आफ्नो पंक्तिमाथि भइरहेका शोषण र उत्पीडनका विरुद्ध ट्रेड युनियनहरूमा अझ घनिष्ठ रुपले एकताबद्ध बनौँ र सम्पूर्ण श्रमिकहरूलाई समाजवाद प्राप्तिको दिशामा एकताबद्ध बनाएर अघि बढौं । तबमात्र हाम्रो देशका लाखौं लाख श्रमिकहरूको मुक्ति सम्भव छ ।'