बुटवल। नेकपा (एकीकृत समाजवादी) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार हुने भएको छ।
२०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो। शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरेर उपमहानगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। अधिवेशनको पार्टीका केन्द्रीय सचिव तथा पुर्वमन्त्री सोमप्रसाद पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर अध्यक्ष चिनबहादुर गुरूङले जानकारी दिनुभयो।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भटटराईले आफू आन्दोलनको तयारीमा रहेको बताउँदै यहि विच हुने नगरअधिवेशनको भव्य सफलताको शूभकामना दिनुभएको छ। उहाँले ठूला भनिएका दलहरुकै कारण मुलुकमा यथास्थिति र पुनरोत्थानवादी शक्तिहरु सलबलाउन थालेको बताउनुभयो।
उहाँले अगाडि भन्नुभयो, ‘जनताको आवश्यकता र जनजीविकाका सवालमा मुख्य सत्तासिन दलहरूले ध्यान नदिदा नागरिकमा असन्तुष्टि बढेको छ। मुलुकमा देखा परेको राजनीतिक संकटबाट अगाडि बढ्नका लागि अब सुशासन र रोजगारी नै प्रमुख एजेण्डा हुनुपर्छ। हाम्रो पार्टीले ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने मुद्दालाई स्थापित गर्नेगरी आन्दोलनमा छ। हामी आन्दोलनको चरणमा छौं, हामी सबै क्षेत्रबाट सुझाव लिएर सुशासन र रोजगारीका विषयमा सबैलाई एकजुट बनाएर जाने तयारीमा छौँ।’
त्यस्तै पार्टीका पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज नन्द बञ्जाडेका अनुसार, ‘सुशासन र रोजगार: समाजवादको तयारी’ का सन्दर्भमा पार्टी केन्द्रको निर्देशन बमोजिम बैशाख १४ गते रुपन्देही जिल्लाका समस्याका बारेमा सरोकारवाला, विज्ञ, जानकार तथा सम्बन्धित पक्षसँग छलफल गर्नेछ।छलफलबाट प्राप्त सुझावालाई यहि बैशाख १७ गते जिल्ला प्रशासन कार्यालयमा बुझाउने कार्यक्रम रहेको छ।
उक्त अवसरमा बुटवल उपमहानगरपालिकाका १९ वटा वडाबाट ६५४ प्रतिनिधिहरुले पार्टीको नेतृत्व चयन गर्ने जानकारी दिइएको थियो। अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ जना गरी ६३ सदस्यीय उपमहानगर कमिटि चयन गरिने सचिव लोकराज शर्माले बताउनुभयो।
पत्रकार सम्मेलनमा स्वागत गर्दै पार्टीका नगरउपाध्यक्ष रुक्माङगत घिमिरेले उपमहानगर कमिटिको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो। जिल्लाको दशौं अधिवेशन सम्पन्न गरिसकेको नेकपा एसले स्थानीय पालिका तहका कमिटिहरुको अधिवेशन गरिरहेको छ। यसअघि देवदह, सियारी, ओमसतिया, सिद्धार्थ नगर, रोहीणीमा अधिवेशन सम्पन्न गरिसकिएको सचिव शर्माले बताउनुभयो
पत्रकार सम्मेलनमा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री भगवती अधिकारी, प्रदेश कमिटि सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाहलगायतको उपस्थिती रहेको थियो।