काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी, हुम्लाको १०औँ जिल्ला अधिवेशनको मिति सारिएको छ।
यसअघि बैशाख १५ र १६ गते तय गरिएको जिल्ला अधिवेशन आगामी जेठ २ र ३ गते गर्नेगरी मिति सारिएको पार्टी जिल्ला सचिव कमल बहादुर छत्यालले जानकारी दिनुभयो।
सचिव छत्यालले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी हुम्लाको सातौं बैठकले १०औं जिल्ला अधिवेशन मिति २०८२ साल बैशाख १५ र १६ गते अदानचुली गाउँपालिकाको श्रीनगरमा आयोजना गर्ने निर्णय गरेकोमा, अधिवेशनको सम्पूर्ण तयारीहरू सम्पन्न भइसकेको सन्दर्भ हामी सबैमा हार्दिक जानकारी गराउन चाहन्छौँ।
तर, मिति २०८२ बैशाख ४ गतेको दिन परेको अविरल वर्षाले अदानचुली गाउँपालिकाको श्रीनगर क्षेत्रमा ठूलो क्षति पुऱ्याएको छ। वर्षाका कारण स्थानीय बासिन्दाका घर, गोठ, पसल, चौपाया, बालीनाली, फलफूल, पालिका कार्यालय, विद्यालय, सडक, सिंचाइलगायतका विकासका योजनाहरूमा व्यापक क्षति पुगेको छ। यति वेला सम्म बाटाघाटहरु सुचारु नभई आवतजावतमा समेत कठिनाई भएको र सम्बन्धित निकायबाट राहत तथा पुनर्निर्माणका कामहरू सुरु हुन सकेका छैनन्। यस कठिन परिस्थितिमा हाम्रो पार्टी किसान, व्यवसायी, सर्वसाधारण जनताको दुखको घडीलाई सम्मान गर्दै उत्सवका रूपमा अधिवेशन गर्न उचित नहुने ठहर हाम्रो पार्टीले गरेको छ।
त्यसैले, जनताको मनमा खुसी र शान्ति स्थापित भएपछि मात्र अधिवेशन आयोजना गरिने हाम्रो उद्देश्य अनुरूप, १०औं जिल्ला अधिवेशन अब मिति २०८२ साल जेष्ठ २ र ३ गते सम्बन्धित स्थान अदानचुली गाउँपालिका, श्रीनगर मा आयोजना गरिने निर्णय भएको जानकारी गराउँदछौं। यस सन्दर्भमा सम्पूर्ण सरोकारवाला पक्षहरूलाई यो विज्ञप्ति मार्फत जानकारी गराउँदै, अधिवेशनमा संलग्न सम्पूर्ण उपसमितिका कमरेडहरूलाई उक्त मितिमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारीहरू पुनः अनुकूल रूपमा अगाडि बढाउन निर्देशन गरिन्छ। हार्दिक अभिवादनसहित धन्यवाद।’