काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले प्रधानमन्त्री केपी ओली आफूलाई आइलभ यू केपी बा भन्ने मान्छे खोजिरहेको दाबी गर्नु भएको छ।
नेकपाको ७६औँ स्थापना दिवसका अवसरमा आयोजित विचार गोष्ठिलाई सम्बोधन गर्दै महासचिव भूसालले उक्त दाबी गर्नुभएको हो। महासचिव भूसालले देश निराशा र उकुसमुकुसको अवस्थामा गुज्रिरहेको बेला कांग्रेस, एमाले र माओवादी जिम्मेवार बन्न नसकेको बताउनुभयो।
शैक्षिक हडताल चलिरहेको बेला जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य पारेको बताउँदै उहाँले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको चर्को आलोचना गर्नुभएको थियो। उहाँले भन्नुभयो, ‘ठीक निरोजस्तै।‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न अब पनि ‘आइलभयू केपी बा’ भन्ने कार्यक्रम तय गरिन्छ। त्यो लोकतन्त्रमा आक्रमण गर्ने नेताबाट हिसाब माग्नु पर्ने बेला हो, महिमा गाउने होइन।’
भूसालले अगाडि भन्नुभयो, ‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो। अनि पार्टी कस्तो छ भन्दा एमाले छ। एमाले कस्तो छ भन्दा कमरेड ओलीजस्तो छ। अरुको कुरा सुन्दैन, जनताको पर्वाह गर्दैन। सारा संकटले देश डुब्दैछ, ओलीलाई नाम चाहिएको छ। एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् भन्नेछ। त्यो तहमा पुग्ने नेता यो देशका लागि दुर्भाग्य होइन? ‘कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो। ‘आइ लभ यू केपी बा होइन, कम्रेड केपी हाम्रो हिसाब देऊ, क्रान्तिको हिसाब देऊ, आन्दोलनको हिसाब देऊ, पार्टी विघटनको, संसद विघटनको, लोकतन्त्रमाथि यो तहको आक्रमणको हिसाबकिताब देऊ भन्नु पर्ने हो।’
भुसालले समाजवादी क्रान्तिका लागि उच्च तहको बौद्धिकता र दृढता आवश्यक रहेको बताउनुभयो। जतिसुकै आलोचना भएपनि पूँजीवादीले लेनिनमाथि यी दुई कुरामा कसैले प्रश्न नउठाएको जानकारी दिनुभयो। पार्टी उपाध्यक्ष जयन्ती राईको अध्यक्षता तथा सम्मानित नेता झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको विचार गोष्ठिलाई पार्टीका सम्मानित नेतासहित वरिष्ठ नेता डा.बेदुराम भुसाल र महासचिव भूसालले सम्बोधन गर्नुभएको थियो।