काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले महाकालीमा भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमण रोक्न आग्रह गर्नुको भएको छ।
‘महाकालीमा भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदै छ। यो घटना अन्त होइन त्यही घाइते सीमा नदी–महाकाली नदीको किनारमा दार्चुला जिल्लाको खलङगानेर रहेछ’, खनालले बुधबार विज्ञप्ति जारी गर्दै २०७० को बाढीको कारणले महाकाली नदीको धार परिवर्तन भएको र नदी पूर्वी किनारतिर केन्द्रित भएको बताउनु भएको छ।
‘त्यसले गर्दा करिब ४० रोपनी नेपालको भू-भाग महाकाली नदी पारी समेत पुग्न गएको छ। त्यो भूमिलाई एकलौटी ढंगले कब्जा गरेर भारतीय पक्षले त्यो भू-भागमा तटबन्ध बनाइरहेको कुरा जानकारीमा आएको छ’,खनालले भन्नुभएको छ। साथै उहाँले उक्त भूमि नेपालकै नाप नक्सामा रहेको पनि बताउनु भएको छ। ‘त्यसैले दार्चुलाको खलंगास्थित आम जनता र स्थानीय जिल्ला प्रशासनले समेत उक्त भूभाग नेपालको हो भन्दाभन्दै, तथ्यका आधारमा दाबी गर्दागर्दै, स्थानीय प्रशासनले रोक्दा रोक्दै भारतीय पक्षले सुनेको नसुन्यै अटेर गरेर उक्त नेपाली भूभागलाई कब्जै गर्ने ढंगले अघि बढिरहेको छ’, खनालले भन्नुभएको छ। ‘नेपालको उक्त अभिन्न भू-भागमाथि स्थानीय जनता र प्रशासनको समेत बेवास्ता गरेर भारतीय पक्षबाट त्यहाँ ठाडै सीमा अतिक्रमण गरिरहेको अवस्था छ।’
उहाँले घटनाबारे स्थानीय प्रशासनले संघीय सरकारलाई सुसूचित समेत गरिसके पनि अहिलेसम्म केन्द्र सरकार कानमा तेल हालेर बसेको बताउनु भएको छ। ‘यो आफ्नै देशको भूभाग र सिमाना प्रति सरकारको घोर लापरबाही हो। त्यसैले गर्दा उक्त सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ र त्यहाँका जनता आफै प्रतिरोधमा उत्रने अवस्था आउन थालेको छ’, खनालको भनाइ छ।
खनालले नेपाल सरकारले तुरुन्त केन्द्रीय नापजाँच टोली पठाएर आफ्नो सिमानालाई वैज्ञानिक रूपले प्रस्ट पार्नुपर्ने बताउनु भएको छ। ‘भारतीय पक्षसँग आवश्यक कूटनीतिक वार्ता गरोस्। त्यहाँ भइरहेको तटबन्ध निर्माणको कार्यलाई अविलम्ब रोक लगाओस् र स्थानीय जनता, प्रशासन र जनप्रतिनिधि समेतलाई पूर्ण रूपले संलग्न र सुसूचित गरी नेपाली भूभागको रक्षा गरोस्’, खनालले भन्नुभएको छ,‘अन्यथा यो घटनाले मात्र पनि देशव्यापी विरोध र प्रतिरोधको शृङ्खला विकास हुन अनिवार्य हुनेछ।’
