काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताउनु भएको छ।
नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ,“नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरूले नयाँ धरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान संकटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात् गरौँ।”
उहाँले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरु बीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गर्नुभएको छ। “वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाहरूबाट मुक्त बनौँ”,उहाँले भन्नुभो।
नेपाली विशेषताको समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति र लक्ष्यका आधारमा एकताबद्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमिक वर्गको स्वतन्त्र क्रान्तिकारी शक्तिका रूपमा खडा गर्नुपर्ने विचार व्यक्त गर्नुभएको छ।