काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पर्वतको अध्यक्षमा विराज हमाल चयन हुनुभएको छ।
सनिबार कुश्मामा सम्पन्न पार्टीको बैठकबाट हमाल अध्यक्षमा सर्वसम्मत चयन हुनभएको हो। हमाल युवा संघ नेपाल जिल्ला अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य, जिल्ला कमिटी पर्वतको सदस्य, उपसचिव, सचिव हुँदै अध्यक्ष बन्नुभएको हो।
गत माघ २६-२७ गतेको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सचिवमा निर्वाचित भएपछि जिल्लामा अध्यक्ष पद खाली भएको थियो।
रिक्त पदमा बैठकले हमाललाई पदपूर्ति गरेको हो। त्यस्तै पार्टीको सचिवमा विधान पौडेल चयन हुनुभएको छ। पौडेल यसअघि सचिवालय सदस्य हुनुहुन्थ्यो।
बैठकमा गण्डकी प्रदेश इन्चार्ज एवं पार्टीका केन्द्रीय सचिव श्रीनाथ बरालले पार्टीको नीति र विधिअनुसार पार्टीलाई क्रियाशिल बनाउदै जनमुखि कार्य सञ्चालन गर्नुपर्नेमा जोडदिनु भएको छ।
त्यस्तै गण्डकी प्रदेश अध्यक्ष कृष्ण नेपालीले जनगुनासो संकलन गरि जनताको चाहानाअनुसार पार्टीले काम गर्नेमा जोडदिनुभयो। त्यस्तै केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले पार्टीलाई सशक्त र चलायमान गराउन सक्रिय रहदै आ-आफ्नो भुमिका निर्वाह गर्न पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आग्रह गर्नुभएको छ।
बैठकमा केन्द्रीय लेखा आयोग सदस्यमा निर्वाचित बैकुण्ठ भुसाल, गण्डकी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष कृष्ण नेपाली, सचिव ठाकुर प्रसाद शर्मा प्रदेश कमिटी सदस्यहररू हरि प्रसाद सुवेदी, यज्ञ प्रसाद बस्याल, सुवास रोक्का, महमद साहब अलीलगायतलाई सम्मानसमेत गरिएको थियो।