सुर्खेत। समानता, सामाजिक न्याय, र जातीय विभेद उन्मूलनका लागि ऐक्यवद्धता निर्माण भन्ने मूल नाराका साथ शुक्रबार आज वीरेन्द्रनगर, सुर्खेतमा ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइएको छ।
कर्णाली प्रदेश प्रतिष्ठानका अध्यक्ष वसन्तकुमार विश्वकर्माको अध्यक्षता एवं सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमा कर्णाली प्रदेशसभा सदस्य उर्मिला विश्वकर्मा र लक्ष्मी सुनारको विशेष आतिथ्यता रहेको थियो।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख रमेश कुमार थापा, इन्सेक कर्णाली प्रदेश, दलित महिला संघ सुर्खेत, सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम वहादुर विश्वकर्मा लगायतको आतिथ्यतामा ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस भव्य रूपमा मनाइएको छ।
दिवसक अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । जसमा जातीय भेदभाव विरुद्ध अभियान र चेतनामूलक गतिविधिहरु सम्पन्न गरिएका छन्। विश्वभरका मानिसहरुले जातीय विभेद र छुवाछूत जस्ता कुराहरु विरुद्ध आवाज उठाउँदै यो दिवस मनाईएको छ।
नेपालको सन्दर्भमा जातजाति विचको विभेद अझै पनि कायमै रहेको छ, विशेष गरी दलित समुदायमाथि छुवाछूतको नाममा विभेद हुदै आएको छ। यसैलाई ध्यानमा राख्दै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश प्रतिष्ठान, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, दलित महिला संघ सुर्खेत, र दलित अधिकारको क्षेत्रमा सक्रिय नागरिक समाजले अगुवाई गरी देशभर यो दिवस मनाइरहेका छन्।
प्रमुख अतिथि मन्त्री घनश्याम भण्डारी, विशेष अतिथि माननीय उर्मिला विश्वकर्मा, माननीय लक्ष्मी सुनार, अतिथि राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालय प्रमुख रमेशकुमार थापा, सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ओम बहादुर विश्वकर्मा, मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश संयोजक, नवज्योति केन्द्र प्रमुख सिष्टर रोसिटा, अधिवक्ता मंगलसेन सार्की, रूकुम विश्वकर्मा, अनुसी, राजेश शोनी लगायत अतिथिहरूले दिवसको शुभकामना दिनुभएको छ। साथै प्रमुख अतिथि र विशेष अतिथिहरूले दलितहरूको हकअधिकार सुनिश्चितता लागि सधैं सकृय रहने र संविधानको धारा २४, ४० र ४२ लाई कार्यान्वयन गर्नमा जोड दिनु भएको छ।
ऐतिहासिक पृष्ठभूमि
सन् १९६० मार्च २१ को दिन दक्षिण अफ्रिकाको सार्पभिल्ले नगरमा रंगभेदी कानून विरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शन माथि प्रहरीले गोली चलाउँदा ६९ जना काला जातिको हत्या भएको थियो भने १८६ जना घाईते भएका थिए। उक्त दिनलाई सम्झेर बिश्व जाती तथा रंगभेद उन्मूलन दिवस मनाउन थालिएको हो। सन् १९६६ मा संयुक्त राष्ट्रसंघको महासभाले उक्त दुःखान्त घटनाको स्मरण गर्दै प्रत्येक वर्ष मार्च २१ तारिखलाई जातीभेद उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन घोषणा गरेको थियो।
दक्षिण अफ्रिकामा त्यतिवेला रहेको रंगका आधारमा गरिने विभेद र नेपालमा रहेको जातीय विभेदको रुप उस्तै-उस्तै रहेकाले पनि नेपालमा यो दिवसको महत्व बढी रहेको छ ।कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर, सुर्खेतमा प्रदेश सरकार, सामाजिक संस्था, राष्ट्रिय मानवअधिकार आयाेग, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ सुर्खेत, निजी क्षेत्र दलित तथा गैरदलितकाे साझा कार्यक्रम पहिलाे पटक गरिएको छ। कार्यक्रम संचालन रमेश विक्रम दर्जीले गर्नुभएको थियाे।






