कालिकोटको राजनीतिक दृश्य अहिले एक निर्णायक मोडमा प्रवेश गरेको छ। जिल्लाको पुरानो राजनीतिक संरचना भत्किंदै गर्दा नयाँ विचार, सिद्धान्त र समाजवादी कार्यक्रमले स्थान पाएको छ। एक शब्दमा भन्दा नयाँ विचारको प्रवेशले कालिकोटको राजनीतिक अवस्थालाई गतिशील बनाएको छ।
नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा परिवर्तनको लहर विस्तारै फैलिँदै गएको छ। जनताको इच्छाशक्ति र नयाँ नेतृत्वको आवश्यकता तीव्र रूपमा बढ्दै गएको छ। जसको परिणामस्वरूप नेकपा (एकीकृत समाजवादी) मा सदस्यता लिनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
कालिकोटका विभिन्न गाउँ र नगरका मानिसहरूले पुराना दल र नेताहरूको साथ परिवर्तन गर्न थालेका छन्। यसले नेकपा (एकीकृत समाजवादी) को दृष्टिकोणलाई थप बलियो बनाएको छ। यहाँका युवा, महिलाहरू र समाजका विभिन्न वर्गका व्यक्तिहरू पार्टीमा खुलेर सामेल हुँदैछन्। जसले नयाँ आशा र विश्वासको सञ्चार गरेको छ। परिवर्तनको यो लहरमा मुख्य रूपले युवा वर्गको सक्रियता देखिन थालेको छ। जसले पुराना राजनीतिक ढाँचामा सुधार ल्याउने लक्ष्य राखेका छन्।
साथै, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ दलले लिनुपर्ने स्थान र माहोल अहिले नेकपा (एकीकृत समाजवादी) ले समेट्न सफल भएको छ। विशेषगरी दलित, महिलाहरूको मन जित्दै समाजवादी आकर्षणको केन्द्र बन्न थालेको छ। गाउँशहरका युवा मात्र होइन, बृद्धवृद्धाहरू समेत समाजवादी विचार र कार्यक्रमप्रति आकर्षित देखिन्छन्।
खासगरी कालिकोटमा एमाले र कांग्रेस कमजोर बन्दै गएको छ। बारम्बार कालिकोटमा चुनाव जितेर सत्ता सम्हाले पनि जिल्लाको विकास र समृद्धिमा कुनै पनि परिवर्तन भएको छैन। जनताको दुःख कम भएका छैनन्। बरू उल्टै २०६४ देखि निरन्तर चुनाव जित्दै आएको माओवादीका नेताहरूले काठमाडाँैमा घर बनाएका छन् । सन्तानहरूलाई अमेरिका, अष्ट्रेलिया, बेलायत र जापान तिर पढाउन पठाइरहेको कुरा घाम जस्तै छ। विचार र व्यवहारबीच कुनै सम्बन्ध मिल्दैन । सोही कारण पनि माओवादी केन्द्र र कांग्रेसप्रति जनअसन्तुष्टि बढेको सहज आंकलन गर्न सकिन्छ। त्यही असन्तुष्टिको लहर अहिले एकीकृत समाजवादीको पक्षमा उभिन थालेको छ ।
जिल्लामा सम्पन्न विभिन्न कार्यक्रम र जनसभाहरूबाट यस्तो दृश्य प्रष्ट देखिन थालेको छ। विकल्प खोजिरहेका जनताले समाजवादी धारलाई आशाको केन्द्र बनाउँदै लगेको कुरा लुकाउन मिल्दैन । जिल्लाको नरहरिनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका लगायतका पालिकामा एकीकृत समाजवादी पार्टीमा सयौँको संख्यामा समाहित भएका खरबहरूले दाबीलाई थप बलियो बनाउछ।
नेकपा (एकीकृत समाजवादी) को अभियान स्थानीय विकास, समावेशीता र समानताको पक्षमा केन्द्रित छ। पार्टीले आफ्ना नीति र कार्यक्रमहरू स्थानीय स्तरसम्म पुर्याएको छ। जसले यहाँका जनताको जीवनस्तर सुधार्ने दाबी गर्दै आएको छ। नेताहरू जनताको घरदैलोमा पुगेर उनीहरूको आवाज सुनिरहेका छन्। संवाद र प्रत्यक्ष सहभागितालाई प्राथमिकता दिएको समाजवादी अभियानले गाउँगाउँमा बलियो प्रभाव छोडेको छ।
कालिकोटमा अहिले नयाँ ऊर्जा र उत्साह देखिन्छ। नेकपा (एस) तर्फ आकर्षण तीव्र रूपमा बढ्दो छ र यसले आगामी निर्वाचनमा ठूलो प्रभाव पार्ने निश्चित छ। यो लहर सँगै यहाँको राजनीतिक दिशा र नेतृत्व प्रणालीमा ठूलो परिवर्तन आउन सक्छ। यसका साथै, पार्टीले प्राकृतिक स्रोतको संरक्षण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार ल्याउने ठोस योजनाहरू अघि सारेको छ, जसले जनतालाई प्रत्यक्ष फाइदा पुर्याउनेछ।
नेकपा (एकीकृत समाजवादी) को पछिल्लो अभियान ‘घरघर समाजवाद, जनताको सरकार’ भन्ने नरा अहिले कालिकोटका गाउँगाउँमा घन्किन थालेको छ। साथै पार्टी केन्द्रले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुल नाराकासाथ आन्दोलनद्धारा पार्टी निर्माण र विस्तार गर्ने योजनाले जनतामा नयाँ आशा भरेको छ। यस अभियानमार्फत जनताको आकांक्षालाई प्राथमिकता दिँदै नीति निर्माण गर्ने प्रयास गर्ने र जनताका समस्या समाधान गर्ने स्पष्ट कार्यक्रम समाजवादीले दिन सक्यो भने नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ उचाई लिनेमा दुईमत छैन। जनताको चाहना, भावना, अवस्था र आवश्यकता बमोजिम कार्यक्रमहरू तय गरिँदै अघि बढ्नुपर्छ।
पार्टी कार्यकर्ताहरूले स्थानीय विकासका मुद्दामा जनतालाई थप सचेत गराउँदै, उनीहरूको विचारलाई प्राथमिकतामा राखेर अभियानलाई अगाडि बढाइरहेका छन्। यसले कालिकोटका नागरिकहरूलाई एकताबद्ध गर्दै राजनीतिक प्रक्रिया र निर्णयप्रति गहिरो समझदारी विकास गराएको छ।
अन्ततः, कालिकोटको राजनीति अब परिवर्तनको बाटोमा अघि बढिरहेको छ। पुराना कूटनीतिक धारा, प्रणाली र नेताहरूसँगको सम्झौतामा दरार परेको छ भने नयाँ नेतृत्व र विचारको माग दिनप्रतिदिन तीव्र हुँदै गएको छ। नेकपा (एकीकृत समाजवादी) को यो लहर आगामी वर्षहरूमा कस्तो प्रभाव पार्छ भन्ने समयले देखाउनेछ। तर, एक कुरा भने स्पष्ट छ, कालिकोटको राजनीति अब सुस्ताउने छैन, परिवर्तनको यात्रा अझ तीव्र गतिमा अघि बढ्दैछ।