काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले लोक सेवामा ६ पटकभन्दा बढी परीक्षा दिन नपाइने कानूनी व्यवस्था गर्न लागेको भन्दै विरोध जनाउनु भएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले कुनै नागरिकलाई परीक्षा नै दिन नपाउने गरी सिण्डिकेट गर्नु संविधानको भावनाविपरीत रहेको जिकिर गर्नुभयो।
उहाँले अगाडि भन्नुभयो, ‘यसरी परीक्षाबाट नै वञ्चित गरिनु नेपाली युवाहरूलाई अझ बढी खाडी र मलेसियातिर धकेल्नु हो। सरकारले रोजगारीको विकल्प पनि नदिने परीक्षामा प्रतिस्पर्धा गर्न पनि रोक्ने, मौलिक अधिकारबाट वञ्चित गर्नु हो। त्यसकारण लोकसेवा लड्ने उमेर भएसम्म परीक्षा दिन पाउनुपर्छ। नेपाली भाइबहिनीहरूलाई लोकसेवा लड्ने र राष्ट्र सेवक बन्ने अवसरबाट वञ्चित नगरौं।’
बरू राजनीतिक नियुक्ति कति पटक खान पाउने, चुनाव कति पटक लड्न पाउने, सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति कतिपटक हुन पाउने भनेर बहस गर्नुपर्ने उहाँको भनाई छ।
उपाध्यक्ष ज्वालाले अगाडि भन्नुभयो,‘राष्ट्रपति, उपराष्ट्रपति एक पटक भए हुन्छ। प्रधानमन्त्री दुई पटक भन्दा बढी नहुने, मन्त्री सांसद बढीमा तीन पटक हुने र गैरसांसद मन्त्री हुने व्यवस्था गरौं। सत्ता सञ्चालन र पटक-पटक चुनावमा फेल हुनेलाई बरु निषेध गरौं।’