राजतन्त्रवादको विरोध र भण्डाफोर गरौँ, समाजवादी गणतन्त्रको दिशामा अघि बढौँ।
नेपालबाट राजतन्त्र कुनै व्यक्ति, गुट वा नेताको इच्छाले मात्र समाप्त भएको होइन, ३ करोड जनताले निर्वाचन गरेको नेपालको संविधान सभाको ऐतिहासिक वैठकको निर्णय अनुसार नेपालको राजतन्त्रलाई उन्मूलन गरिएको हो र गणतन्त्र नेपालको घोषणा गरिएको हो । यो नेपालको जन निर्वाचित संविधान सभाले गरेको ऐतिहासिक निर्णय हो । यो ऐतिहासिक निर्णय विदेशीको इसारा बमोजिम पैसा र प्रलोभनबाट खडा गरिएको वा गरिने भीडको असंवैधानिक, जनविरोधी, यूग विरोधी र लोकतन्त्र विरोधी प्रलापहरुबाट बदलिने वाला छैन । यो नेपाली जनताले नेपाल राष्ट्रको दिर्घ भविष्यलाई समेत विचार गरेर गरेको निर्णय हो । अब नेपालमा जहिले सम्म नेपाल राज्य रहने छ, त्यसबेला सम्म गणतन्त्र रहने छ । यसलाई कुनै स्वदेशी विदेशी षडयन्त्र र प्रपञ्चबाट कसैले हल्लाउन सक्तैन । यो गणतन्त्र आज पुँजीवादी गणतन्त्रका रुपमा छ, यो अझ अघि बढेर समाजवादी गणतन्त्रमा रुपान्तरण हुनेछ । तर इतिहासले कूडा करकट बनाएर फ्यांकि सकेका तत्वहरुलाई कुनै मतिभ्रष्ट, स्वार्थी र विदेश परस्त शक्तिहरुको क्षणिक वितण्डाबाट पुर्नस्थापना गर्नु संभब छैन । गणतन्त्र नेपाल हिमशैल सगरमाथा झैँ अडिग र अटल भएर रहने छ । छिछिमिराहरु निस्केर उड्दैमा जसरी देबल ढल्न सक्दैन, केहि मतिभ्रष्ट युग विरोधी तत्वहरुको सल्वलाहटबाट यो ३ करोड नेपालीको रगत पसिनाबाट सृजित गणतन्त्रको देबल पनि डग्मगाउँन सक्तैन ।
सम्पूर्ण गणतन्त्रबादीहरु,कम्युनिष्ट क्रान्तिकारीहरु, वामपंथीहरु, समाजवादीहरु, क्रान्तिकारी लोकतन्त्रवादीहरु तथा समस्त देशभक्तहरु !
गणतन्त्रका निम्ति निरन्तर २००६ साल देखि संघर्ष गर्दै आउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु ! तपाई हामीले यो देशमा गणतन्त्र घोषणा गरेको १६ वर्ष भएको छ । यो लामो अवधिमा देशमा व्यवस्था मात्र होइन जनताको सामाजिक–आर्थिक अवस्थालाई नै बदल्न सक्नु पर्ने थियो । क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्ने थियो, भूमिहीन र गरिब किसानलाई जमिनका मालिक बनाउनु पर्ने थियो । शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने थियो । राष्ट्रिय औद्यौगिकरणको लहर सुजना गर्नुपर्ने थियो । देशमा व्यापक रुपले रोजगारी सृजना गर्नुपर्ने थियो । युवाहरुलाई स्वदेशमै काम पाउने व्यवस्था गर्नुपर्ने थियो । भ्रष्टाचारलाई जरैदेखि उखेल्न राष्ट्रव्यापी अभियान चलाउनु पर्ने थियो । देशको सीमानाको रक्षा गर्न दृढ हुनुपर्ने थियो । राष्ट्रियता माथि भइरहेका गलत क्रियाकलाप विरुद्ध दृढ भएर उभिनु पर्ने थियो । प्रतिगमनका आधारहरुलाई जरै देखि उन्मूलन गर्नुपर्ने थियो । तर गणतन्त्रवादी शासकहरुका तर्फबाट उपरोक्त कामहरु केहि पनि हुन नसक्नुका कारणले आज जनतामा असन्तोष, विरोध, निरासा र आक्रोस फैलिएको छ । यी ठूला पार्टीका शासकहरु प्रति अहिले जनता क्रुद्ध बनेको स्थिति छ । यहि कुराबाट फाइदा उठाउँदै राजतन्त्रवादीहरु हिजोका हत्यारा र जल्लादहरुलाई “फूलको वर्षा” गरेर “पवित्र घोषित” गर्दै पुनः बंशगत शासन ल्याउन सकिन्छ कि भनेर सडकमा निस्कन थालेका छन । नेपाली जनताले सुखानी हत्याकाण्ड, इभाङ हत्याकाण्ड, भिमान हत्याकाण्ड र खोकु छिन्ताङ हत्याकाण्डलाई बिर्सेका छैनन । पिस्कर हत्याकाण्ड बिर्सेका छैनन । पोखरामा भएको नमिता, सुनिता हत्याकाण्ड त झनै बिर्सेका छैनन । पंचायतकालमा देशै भरि भएका यी हत्याकाण्डका नाइके त्यसबेलाका राजा र अधिराजकुमारहरु हैनन र ? दरवार हत्याकाण्डका मतियारहरु यिनीहरु आफै होइनन ? १९ माघको सत्ता पलट गरेर देशलाई कालरात्री तिर जबर्जस्ती धकेल्ने तानाशाही यिनै ज्ञानेन्द्र शाह होइनन र ? त्यस बेलाको सबिधानलाई कुल्चिने र देशमा तानाशाही लाद्ने यिनै होइनन र ? आज पूर्वपंच र केहि मतिभ्रष्ट बुद्धिजीबिहरुको एउटा सानो झुण्डले “फूलको वर्षा” गर्ने बित्तिकै ती तानाशाहहरु आज “लोकप्रीय” बन्न सक्छन ? तिनै अत्याचारले चरम सीमा छुन थालेपछि राजतन्त्र उन्मुलन गरेको होइन र ? के आमाको गर्भबाट जन्मि सकेको बच्चालाई फेरी पेटमा नै फर्काउन संभव हुन्छ ? किमार्थ संभव हुन्दैन र संभव छैन ।
त्यसैले देश र प्रवासमा समेत रहनु भएका समस्त गणतन्त्रवादी मित्रहरु ! कुनै पनि तानाशाहहरुका निम्ति संबिधान कागजको खोस्टो मात्र हुन्छ । पूर्बराजा ज्ञानेन्द्रको निम्ति आजको संविधान पनि त्यस्तै भएको छ । राजतन्त्रवादीहरुका यी उदण्डतापूर्ण हरकतहरु, संविधान विरोधी, गणतन्त्र विरोधी र धार्मिक समानता विरोधी प्रचारहरुको दृढतापूर्वक खण्डन गरौँ, वर्तमान गणतन्त्र र त्यसलाई समाजवादी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने आवश्यकता र औचित्यको पुष्टि गरौँ, राजतन्त्रवादीहरुलाई विदेशीहरुले दिईरहेको टेको पुडोको भण्डाफोर गरौँ, गणतन्त्र स्थापना पछि जनताको अवस्थामा सुधार गर्न नसकेको प्रति जो जिम्मेवार छन उनीहरुले जनता समक्ष आत्मआलोचना गरौँ । क्रान्तिकारी भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औद्योगिकरण, शिक्षा, स्वास्थ्यमा व्यापक परिर्वतन, रोजगारीको विकास, राष्ट्रियतालाई सुदृढ गर्ने लगायतका आर्थिक–सामाजिक सुधारका योजना र कार्यक्रम तत्काल घोषणा गरौँ, राजतन्त्रवादीहरुका वितण्डताहरुको देशव्यापी रुपमा विरोध, आलोचना र खण्डन गरौँ, यस्ता वितण्डाहरुका पछाडि विदेशीहरुको खेल कसरी चलिरहेको छ, त्यसको सतथ्य व्यापक भण्डाफोर गदैँ वर्तमान गणतन्त्रको रक्षा गरौँ, त्यसलाई यो भन्दा अघि बढेर समाजवादी गणतन्त्रको दिशामा विकास गर्न कम्मर कसेर लागौँ र देशव्यापी रुपमा राजतन्त्रवादी, वंशतन्त्रवादी र पुर्नरुत्थानवादीहरुका विरुद्ध राष्ट्रव्यापी विरोध र भण्डाफोरको लहर सृजना गरौँ । यसरी नेपाली इतिहासको रथलाई वैज्ञानिक समाजवादतिर अघि बढाऔँ ।
यथास्थितिवादले राजतन्त्रका संबिधान बिरोधी क्रियाकलापलाई मात्र पनि रोक्न सक्तैन । राजतन्त्रवाद र यथास्थितिवादको एक मात्र विकल्प वैज्ञानिक समाजवाद नै हो । २००६ साल देखि नै गणतन्त्र, जनवाद र समाजवादको झण्डा उचालेर अघि बढ्दै आएका सम्पुर्ण वामपंथी क्रान्तिकारी मित्रहरु ! देश र जनताको भविष्यलाई नयाँ धरातलबाट सोच्ने बेला आयो । हामीहरु विगतको समिक्षा गरौँ, हिजो भएका कमीकमजोरीहरु हटाऔँ, समाजवाद प्राप्तिको कार्यदिशाका आधारमा सम्पूर्ण सच्चा वामपंथी शक्तिहरु, देशभक्तहरु र गणतन्त्रवादीहरुलाई एकतावद्ध बनाऔँ, राजतन्त्रवाद र यथास्थितिवादको विरोध र भण्डाफोर गदैँ समाजवादको दिशा तिर दृढता पूर्वक अघि बढौँ र देश तथा जनतालाई अघि बढाऔँ । आज समयले हामीलाई यहि दिशामा अघि बढ्न लल्कारी रहेको छ।
२८ फागुन, २०८१