काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरुद्ध प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूको चलखेल बढेको भन्दै परिवर्तनको पक्षमा रहेका शक्तिहरू एकताबद्ध भएर बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालयको तेस्रो बैठकले प्रतिगामी शक्तिहरूको चलखेलको विरोध गर्दै त्यस्ता गतिविधिहरू नेपाली जनताको चाहाना र भावना विपरीत भएको ठहर गरेको हो।
‘अहिले केही व्यक्तिहरूले नेपाली जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रका विरुद्ध गतिविधि गर्न थालेका छन्। यस्ता गतिविधिहरू नेपाली जनताको चाहना र भावना विपरीत छन्’, बैठकपछि प्रचार विभाग प्रमुख प्रकाश ज्वालाको भनाई छ।
एकीकृत समाजवादीले प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिलसमेत गरेको छ।
‘वर्तमान गणतन्त्रको विकल्प उन्नतस्तरको गणतन्त्र नै हो भन्ने तथ्यमा जोड दिँदै हाम्रै काम र अभ्यासहरूको समेत गम्भीर आत्म समीक्षा गर्दै प्रतिगमनकारी तथा पुनरुत्थानवादी तत्त्वहरूले इतिहासमा उनीहरूले गरेका सम्पूर्ण कुकर्महरूलाई नाङ्गेझार गर्न सबै राजनीतिक पार्टी, बौद्धिक जगत, नागरिक समाज र आम जनसमुदायमा अपिल गर्दछौँ’, बैठकपछि जारी विज्ञप्तिमा समाजवादीले भनेको छ।
सचिवालय बैठकले आगामी चैत १ गते वृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा एवं रोजगारी र सुशासनको निम्ति पार्टीले गर्न लागेको आन्दोलनको रूपरेखा एवं कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।