काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताउनु भएको छ।
‘हामीले परास्त गरेको, नेपाली जनताको निम्ति अफापसिद्ध छ भनेर मसानघाटमा पुर्याएको राजतन्त्र फेरि कुर्लिरहेको छ,’ उहाँले भन्नुभयो, ‘प्राप्त अधिकार नगुमाउन सबै सजग बनौं।’
संघीय लोकतान्त्रिक गणतन्त्र लामो संघर्ष गरेर प्राप्त भएको ख्याल गर्न र यसअनुसारको व्यवहार प्रदर्शन गर्न आवश्यक रहेको उहाँको भनाई छ। ‘फेरि पनि प्रतिगामी कुर्लंदैछन्, ब्युझँदैछन् र आज संविधानको उल्लंघन गर्न खोज्दैछन्। ६७/६८ वर्षसम्म लडेर प्राप्त गरेका उपलब्धी खोज्न चाहन्छन्। संघीय लोकतन्त्रमाथि धावा बोलिरहेका छन्,’ उहाँले सरकारको ध्यानाकर्षण गर्नुभएको छ।
नेकपा (एकीकृत समाजवादी) कै सांसद उदयबहादुर बोहरा लोकतन्त्रमाथिको प्रहार सैह्य नहुने चेतावनी दिनुभएको छ। ‘केही समययता काठमाडौं लगायत मुलुकका केही शहरहरूमा नाराजुलुस भइरहेका छन्। उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ,’ उहाँले भन्नुभयो।
तर, सरकार गम्भीर नभएको भन्ने उहाँको आशंका छ। सरकार र मन्त्रीहरूको कार्यशैलीले प्रश्न उठाएको तर, त्यो प्रश्न व्यवस्थासँग सम्बन्धित नरहेको उनको भनाइ छ। सरकारले कार्यशैली सच्याएर गलत प्रवृतिलाई निरुत्साहित गर्नुपर्ने उहाँको आग्रह छ।