काठमाडौँ। समाजवादी प्रेस संगठन, नेपाल धनुषाले पत्रकार सम्मेलनको आयोजना गरेको छ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको हो।
पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य रामचन्द्र झा र सुत्रधन महतो, केन्द्रीय सदस्य सुधिर साहलगायतका नेताहरुको उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका बारेमा ब्रिफिङ गर्नुभएको थियो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले मंगलबार धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको जिकिर गर्नुभयो।
‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन। तत्काल त्यो अवस्था आएकै छैन। तर कार्यगत एकता जोसँग पनि सम्भव छ,’ खनालले भन्नुभयो, ‘इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ।’ ‘आज राष्ट्रियतामाथि खतरा बढेको छ। सबै वामपन्थीहरू मात्र होइन, अरु पनि किन एकताबद्ध भएर उभिन सकेका छैनन्?,’ खनालको प्रश्न छ।
फरक प्रसँगमा खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाउनुभयो। जसको पछिल्लो उदाहरण कही समय अघि जारी भएको अध्यादेश रहेको उहाँको दाबी छ।
