कालीकाेट। नेकपा (एकीकृत समाजवादी) कालीकोटले संगठन सुदृढ गर्दै प्रभावकारी भूमिका खेल्न चैत २५ र २६ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
बिहीवार सम्पन्न जिल्ला कमिटीको बाह्रौं बैठकले अधिवेशनलाई भव्य बनाउन गाउँ, नगर र प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीहरूको अधिवेशन समयअगाडि सम्पन्न गर्ने निर्णय गरेको हो। बैठकले “दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादको दिशामा अघि बढौँ” भन्ने नाराका साथ समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष जीवन कुमार शाहीका अनुसार, नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेको संख्या बढिरहेको बताउनुभएको छ । बिहिवार मात्रै खाँडाचक्र नगरपालिका–४ का मनोज विश्वकर्मासहित एमालेका युवा नेताहरू पार्टी प्रवेश गरेका छन् । जिल्ला उपाध्यक्ष कमल बहादुर शाहीका अनुसार, तत्काल खाँडाचक्र नगरपालिकामा पार्टी प्रवेश कार्यक्रमकाे आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले नेकपा (एकीकृत समाजवादी) जनताको वास्तविक चाहनाअनुसार नेतृत्व गर्न सक्षम रहेको बताउनुभयाे । उहाँ अनुसार, अबको राजनीति व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनमुखी हुनुपर्छ, जसका लागि पार्टी प्रतिबद्ध छ।
बैठकमा प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, नगर तथा पालिका कमिटी अध्यक्ष र भातृ संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो । बैठकले जिल्लाका समस्याहरूको पहिचान गर्दै तिनको समाधानका लागि संगठनलाई थप प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ । अधिवेशनलाई भव्य बनाउन सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सक्रिय सहयोग गर्न अपिल गरिएको छ ।