काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु रहेको स्मरण गराउनु भएको छ।
७५औँ प्रजातन्त्र दिवसका अवसरमा सम्मानित नेता खनालले वीर शहीदहरूले कल्पना गर्नुभएको लक्ष्य पूँजीवादी संसदीय लोकतन्त्र नभएर वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्रको प्राप्ति भएको स्पष्ट पार्नु भएको हो।
सम्मानित नेता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज फागुन ७, प्रजातन्त्र दिवसको दिन, यो ऐतिहासिक दिन, नेपालको इतिहासमा निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाज घन्काउदै प्रजातन्त्र थालनी भएको महत्वपूर्ण दिन हो। यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’
विज्ञप्तिमा अगाडि भनिएको छ,‘२००७ सालको क्रान्ति सम्पन्न भए पश्चात नेपाल क्रमशः जनाअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गर्यो। त्यसपछि लगातार प्रजातन्त्र माथि धेरै प्रकारका चुनौतीहरु पनि आइलागे। ती तमाम चुनौतीहरुका बाबजुद हामीले २०४६ सालमा जनआन्दोलनमार्फत अर्को परिर्वतन गर्यौ। तीनै वीर अमर शहिदहरूको रगतले सिंचित भएको नेपाली धर्तीमा जनताको अभूतपूर्व जागरण र संघर्ष पछि ०६२–०६३ को जनक्रान्ति सम्पन्न भयो। अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ। यो पूँजीवादी लोकतन्त्र हो। तर, हाम्रा ती वीर शहीदहरुले कल्पना गर्नुभएको लक्ष्य पूँजीवादी संसदीय लोकतन्त्र प्राप्ति मात्र होइन, वहाँहरूको वास्तविक लक्ष्य भनेको वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्रको प्राप्ति हो। त्यसैकारण आदरणीय दाजुभाई दिदीबहिनीहरू तथा कमरेडहरु, ती वीर अमर शहिदहरूको रगत कहिल्यै खेर जान सक्दैन। वहाँहरूका महान् सपनालाई वर्तमान पूँजीवादी लोकतन्त्रले पूरा गर्न सक्दैन। अहिले पनि समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र हर प्रकारका विकृति विसंगतिहरु छँदै छन्। तिनीहरूलाई समुच्छेद गरेर मात्र हामीहरु एउटा सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्न सक्छौं। तब मात्र हाम्रा वीर अमर शहीदहरूको सपनालाई साकार बनाउन सकिन्छ। त्यसैकारण कमरेडहरु तथा आदरणीय जनसमुदायहरू हामी सहि क्रान्तिकारी कार्यदिशाका आधारमा अझ घनिष्ठ रुपले एकताबद्ध बनौँ। कम्युनिष्टहरू बीचको एकतालाई सुदृढ बनाऔं र वीर अमर शहीदहरूको सपना समाजवाद निर्माणको दिशामा दृढतापूर्वक अघि बढौँ। अन्त्यमा, प्रजातन्त्र दिवसको अवसरमा म फेरि सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।’