काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ।
आज यहाँ आयोजित एकीकृत समाजवादी उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले महङ्गी नियन्त्रण, बेरोजगारी समस्या समाधान, भ्रष्टाचार नियन्त्रण, जनजीविका क्षेत्रमा सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष नेपालले सरकारले संसद्को अधिवेशन बोलाउन ढिला गरेर अध्यादेशबाट शासन सञ्चालन गर्न खोजको भन्दै विरोध जनाउनुभयो। पूर्वप्रधानमन्त्री नेपालले देशको राजनीतिले असल पार्टी, दूर दृष्टिकोण भएका नेताहरूको खोजी गरेकाले असल चरित्रको विकास गर्दै पार्टी निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो।
त्यस्तै पार्टी महासचिव घनश्याम भुसालले अहिले मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर भएकाले राष्ट्रिय राजनीतिमा अनेक समस्या आएको धारणा राख्नुभयो। उहाँले बिग्रिएको राजनीतिक कोर्सलाई सच्च्याउन कम्युनिष्ट पार्टीका रूपान्तरण तथा पुन: गठनको खाँचो औँल्याउनुभयो।
पार्टीका सचिव सावित्रा भुसालले सङ्गठनको सुदृढीकरण, भावी कार्यदिशासहित आर्थिक, साङ्गठनिक तथा कार्ययोजना निर्माणमा अधिवेशन केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो। उपत्यका प्रदेश कमिटीका सचिव विष्णु लम्सालले अधिवेशनले सङ्गठनभित्र रहेका फरक मत तथा विचारहरू, असन्तुष्टि र असहमतिलाई विश्लेषण गरी नयाँ कार्यसमिति निर्वाचित गरिने जानकारी दिनुभयो।