काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय अनुशासन आयोगले पार्टीको विधि र पद्धती बाहिर गएर सामाजिक सञ्जालमा टिकाटिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
माघ २० गते आयोगले जारी गरेको विज्ञप्तिमा पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी भ्रम सिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेको उल्लेख छ। साथै यस्ता क्रियाकलापमाथि आयोगले निगरानी राखिरहेको जानकारी गराएको छ।
केन्द्रीय अनुशासन आयोगको प्रेस विज्ञप्ती
१. नेपालको वामपंथी आन्दोलनमा देखापरेको दक्षिणपंथी अवसरवाद, विसर्जनवाद, व्यक्तिवादलगायत अनेकौं विक्रिति र विसंगतिहरूसँग जुध्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सुदृढ, गतिशील र प्रभावकारी बनाउने दायित्वका साथ अघि बढेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को ऐतिहासिक दशौं महाधिवेशन संपन्न भई केन्द्रीय तहको जिम्मेवारी पाउनुभएका सबै कमरेडहरुको कार्यविभाजन भइसकेको छ र उहाहरु आआफ्नो जिम्मेवारी रहेको क्षेत्रमा पार्टी निर्माण र विस्तारको काममा कृयाशील भइसक्नु भएको छ। यो पार्टीलाई विस्तार र सशक्त बनाउदै लैजाने मुख्य आधार भनेकै यस पार्टीका अनुशासित र स्वाभिमानी नेता कार्यकर्ताहरुको विशाल पति तथा उनीप्रतिको जनविश्वास नै हो।
२. तर, बेलाबखत यस पार्टीका एकाध जिम्मेवार नेता कार्यकर्ताहरुले पार्टी अनुशासनको यो महत्वपूर्ण पक्षलाई विर्सने, पार्टी विधानले दिएको अन्तरपार्टी जनवादको अवशरलाई पद्धतिसंगत ढंगले उपयोग नगर्ने, पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू संगठित कमिटीको बैठकमा नराखी बाहिर सामाजिक सञ्जाल वा मिडियाहरुमा जथाभावी छरेर भ्रम सिर्जना हुने अवस्थामा पुग्याउने काम पनि छिटफुट रूपमा भइरहेको पाइएको छ। हाम्रो पार्टीलाई अनुशासित, मर्यादित रविधि पद्धति अनुरुप संचालन गर्ने, गराउने आधिकारिक निकायको रुपमा रहेको यस केन्द्रीय अनुशासन आयोगको त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ र त्यस्ता गतिविधिहरुलाई यस आयोगले नोटिसमा राखी निगरानी पनि गरिरहेको जानकारी गराइन्छ।
३. एउटा जीवन्त र क्रियाशील पार्टीमा आफ्ना फरक मत र विचारहरू, असन्तुष्टि र असहमतिहरु हुन सक्छन्। ती कुराहरुलाई हाम्रो पार्टी र जनसंगठनहरुले अभ्यास गर्दै आएको अन्तरपार्टी जनवादमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्त अनुसार पार्टीको आफू संगठित रहेको कमिटीको बैठकमा पद्धतिसङ्गत ढङ्गले राख्ने, छलफल र बहस चलाउने र त्यहाबाट टुँगिएको निर्णयलाई इमान्दारीपूर्वक पार्टी निर्णयको रुपमा कार्यकर्ता तथा जनतासम्म पुऱ्याउने कम्युनिष्ट पार्टीको सर्वमान्य लेनिनवादी साँगठनिक सिद्धान्त हो। यही विधि र पद्धतिलाई कडाइका साथ पालन गर्नु गराउनु माथिल्लो कमिटीदेखि तल्लो कमिटीसम्मका सबै नेता, कार्यकर्ताहरूको महत्वपूर्ण जिम्मेवारी हुन्छ। यसलाई वेवास्ता गरी पार्टी विधान विपरीत चन्ने, सामाजिक संजाल, मिडिया वा अन्य माध्यमबाट आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गर्ने जस्ता क्रियाकलापहरू कसैले पनि गर्न पाइनेछैन।
४. पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्ता कमरेडहरूले पार्टीको सिद्धान्त, आचरण र पार्टी विधानको विपरीत हुनेगरी सार्वजनिक संचारका माध्यमहरु र सामाजिक संजालमा गैह्रजिम्मेवारीपूर्ण तरिकाले दिएका त्यस्ता अभिव्यक्तिहरूका कारण पार्टीको नियमित विकास प्रकृयामा समेत प्रत्यक्ष अप्रत्यक्ष रुपमा अशर पर्न सक्छ। तसर्थ, पार्टीको तलदेखि माथि जुनसुकै तह र निकायको जिम्मेवारीमा रहनुभएको कमरेड जाहा जो जोबाट जेजस्तो आशयबाट त्यस्तो बेठीक शैली र कुराहरु प्रकट भएको भए पनि त्यसलाई तत्काल त्यागिहाल्न अनुरोध र सचेत पनि गराइन्छ, अन्यथा पार्टीको विधान अनुरुप अनुशासनको कार्यबाहीको प्रकृया अघि बढाइने कुरा समेत जानकारी गराइन्छ।
क. शिव बहादुर देउज
अध्यक्ष
केन्द्रीय अनुशासन आयोग
२० माघ २०८१