रौतहट। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताउनु भएको छ।
रौतहटको गौरमा नेपाल–भारत पत्रकारको साझा मञ्च मिडिया फर बोर्डर हार्मोनी रौतहटद्वारा शनिबार आयोजित ‘नेपाल–भारत मैत्री संवाद’ कार्यक्रममा नेपालले विमानस्थल निर्माणमा जोड दिनु भएको हो।
व्यावसायिक तथा पर्यटकीय दृष्टिकोणले पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अनिवार्य भएको उहाँको भनाइ छ। ूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले निजगढ–काठमाडौँमा ‘फास्ट ट्र्याक’का साथै निजगढ विमानस्थलको निर्माण अति जरुरी रहेको बताउनु भयो।
स्थानीय स्तरमा दुवै देशका जनप्रतिनिधिहरूले आवश्यकताका आधारमा आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने उहाँको भनाइ छ।कार्यक्रममा मधेश प्रदेश सभाका सांसद सदस्य नागेन्द्र साह, भारतका रिगा विधानसभा क्षेत्रका विधायक मोतिलाल साह, गौर नगरपालिकाका प्रमुख शम्भु साह, बौधीमाई नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवलगायतले आ–आफ्नो धारणा राख्सभएको थियो।
मिडिया फर बोर्डर हार्मोनी रौतहटका अध्यक्ष किशोरीराय यादव र हार्मोनी भारतका अध्यक्ष अमरेन्द्र तिवारीले सीमा क्षेत्रका जिल्लाहरूमा बसोबास गर्ने नेपाल र भारतका जनताले भोग्दै आएका समस्यालाई समाधान गर्न १७ बुँदे साझा माग प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बोर्डर हार्मोनी नेपाल र भारतका प्रतिनिधि, नेपाल र भारतका सञ्चारकर्मीसहित स्थानीयको सहभागिता थियो ।