सल्यान। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने कानुन मान्य नहुने बताउनु भएको छ।
सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने भन्दै उहाँले उक्त विधेयक प्रति आपत्ती जनाउनुभएको हो।
नेकपा एकीकृत समाजवादीको प्रचार विभागद्वारा बिहीबार सल्यानको सदरमुकाम खलंगामा आयोजित नेपाल पत्रकार महासंघ सल्यानका निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।
‘सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरि कानुन बनाउन खोजेको छ, समाजिक सञ्जालमा हुने बिकृति रोक्ने नाममा पत्रकारको स्वतन्त्रता माथि कुण्ठित गर्न पाइदैन, म बिरोध गर्न चाहान्छु, हाम्रो पार्टीले यसको बिरोध गर्छ’ उहाँले भन्नुभयो ‘प्रेसमैत्री कानुनको ब्यवस्था गर्नुपर्ने आवश्यकता छ ।’ सरकारले हिउँदे अधिबेशन रोकेर अध्यादेशको बाढी ल्याउने गरि गलत कार्य गरेको उहाँको भनाइ छ।
‘हत्यारालाई उन्मुक्ति दिने, सुकुम्बासीका नाममा भुमाफियालाई प्रोत्साहन गर्ने लगाएतका थुप्रै कानुन बनाउन खोजिएको छ, अहिलेको सरकारले सुशासनको नाममा कुशासन लाद्न खोजेको छ’ उहाँले अघि भन्नुभयो ‘सरकारले गरेका गलत कार्यको विरोध गर्नुपर्छ, यसमा सत्यतथ्य केलाउने दायित्व पत्रकारकै हो, पत्रकारितामा चुनौती छ, तर रचनात्मक हुनुपर्छ, राम्रा कामको प्रोत्साहन र गलत कार्यको खबरदारी आवश्यक छ।’
प्रतिनिधिसभा सदस्य समेत रहनुभएका ज्वालाले बिकास र समृद्धिका लागि तय गरिएको कानुन नै बाधक भएको बताउनुभएको छ।
‘कानुन बिकासमैत्री हुनुपर्छ, सार्वजनिक खरिद ऐन लगाएतका केहि ऐन समयानुकूल परिवर्तन गरिनुपर्ने आवश्यकता छ, यसलाई संशोधन गरेर अघि बढ्नुपर्छ’ उहाँले भन्नुभयो । ज्वालाले अहिले राप्ती राजमार्गको कपुरकोट खण्डको स्तरोन्नतिका लागि ६० करोड सुनिश्चित भएको बताउनुभयो ।
‘यस खण्डमा अघिल्लो बर्ष ४ किलोमिटरको टेन्डर भैसकेको छ, यो बर्ष पनि काम निरन्तर अघि बढेको छ, कपुरकोट देखि तुल्सिपुरसम्मको बाटो जहाँ–जहाँ समस्या छ, त्यहीँ २ लेनको सडक बनाइन्छ, कपुरकोटको बजार आसपासको जमिन धसिदै गएकाले त्यसलाई थप व्यवस्थित गरिन्छ, कपुरकोट देखि अरिंगाले हुदै टुनिबोट सम्मको सडकको लागि यहि ६० करोडले काम गर्ने हो’ उहाँले थप्नुभयो ‘बाँकी सडक खण्डको लागि फेरि पहल गर्छौ, वजेट माग गर्छौ ।’
लुहाम–काभ्रा हुदैँ कालिमाटी सडक, थारमारे–बडागाँउ हुदै चौरजहारी सडक, खलंगा–बालुवासंग्रही हुदै सुर्खेत सडक लगाएतमा काम भैरहेको उहाँको भनाइ छ। यस्तै मदन भण्डारी राजमार्गले बागचौर देखि रोल्पा सिमाना सम्म काम गर्ने छ। यस्तै जिल्ला अस्पतालको अलपत्र भवन, सिचाइ, खानेपानी, बिजुली लगाएतको क्षेत्रमा काम गरिने ज्वालाले बताउनुभयो। नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम खड्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपसचिव कल्पना सेजवालले गर्नुभएको थियो।