काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खानालले पार्टीका पूर्वस्थायी कमिटी सदस्य रामजी प्रसाद शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
बुधरबार एक विज्ञप्ति जारी गरेर सम्मानित नेता खनालले भन्नुभएको छ,‘नेकपा (एकीकृत समाजवादी) पार्टीका तत्कालिन स्थायी कमिटी सदस्य, गण्डकी प्रदेश कमिटीका अध्यक्ष तथा बागलुङ जिल्लाका वामपंथी आन्दोलनका संस्थापक नेता कमरेड रामजी प्रसाद शर्माको भारतको नँया दिल्लीमा उपचारको क्रममा अचानक दुखद निधन भएको खबरले मलाई मर्माहत बनाएको छ। यस दुखद शोकको घडिमा म दिवगंत कमरेड रामजी प्रसाद शर्माप्रति हार्दिक तथा गहिरो श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, वहाँकी जीवन संगिनी कमरेड सीता शर्मा र वहाँका छोरा छोरीहरू र सम्पूर्ण शोकाकुल परिवारजन तथा आफन्तजनहरूमा समेत म गहिरो समवेदना प्रकट गर्दछु।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कमरेड रामजी शर्मा नेपाली कम्युनिष्ट आन्दोलनको एउटा अथक र सिर्जनशील नेता हो। वहाँले आफु वर्ग सचेत भएको बेलादेखि नै देश, जनता, राष्ट्र, क्रान्ति, जनवाद र समाजवादका निम्ति निरन्तर काम गर्दै आउनुभएको थियो। वहाँले कम्युनिष्ट आन्दोलन, जनवादी आन्दोलन, देशभक्तिपूर्ण आन्दोलन र समाजवादी आन्दोलनलाई नेपालमा अघि बढाउन कठिन र कठोर प्रयत्न गर्दै आउनुभएको थियो। वहाँले नेकपा (माले) निर्माणमा, नेकपा (एमाले) निर्माणमा, नेकपा निर्माणमा र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणमा निरन्तर योगदान गर्दै आउनुभयो। साथै वहाँले पार्टीले मार्गदर्शन गरेका कार्यदिशा, नीति र सिद्धान्त, कार्यक्रम र रणनीति तथा कार्यनीति अनुरुप बाग्लुङ जिल्ला र गण्डकी धौलागिरी प्रदेशमा पार्टी निर्माण गर्ने, आम जनतालाई जागृत, संगठित र आन्दोलित गर्ने, आम जनतासँग घनिष्ट सम्बन्ध विकास गर्ने, त्यही जिल्लाबाट पटकपटक जनप्रतिनिधि हुने काम गर्दै आउनुभएको थियो।'
नेकपा (एकीकृत समाजवादी) बनेपछि गण्डकी प्रदेशका अध्यक्ष र पार्टी स्थायी कमिटीका सदस्यका हैसियतले त्यो क्षेत्रलाई योग्यतापूर्वक नेतृत्व गर्दै आउनुभएको थियो। वहाँ एउटा योग्य, अनुशासित, पार्टी र समाजवादी क्रान्तिप्रति प्रतिबद्ध कमरेड हुनुहुन्थ्यो। वैज्ञानिक समाजवादप्रति अत्यन्त दृढ हुनुहुन्थ्यो। पछिल्लो अवधिमा वहाँ मृगौलाको समस्याले ग्रस्त बन्नुभएको थियो। डाक्टरको सल्लाह अनुसार वहाँ मृगौला परिवर्तन गर्ने योजनाका साथ दिल्ली जानुभएको थियो। तर उपचार गर्दागर्दै वहाँको अत्यन्त दुखद निधन भएको छ। यस घटनालेपार्टी र जनतालाई समेत अपुरणीय क्षति पुर्याएको छ । हामी सबैले एउटा सचेत, योग्य र होनहार नेतालाई गुमाएका छौँ। जेसुकै भएपनि अब वहाँ हामीसँग हुनुहुन्न। तर वहाँका गहकिला योगदानहरू, वहाँले सिर्जना गरेका संगठनहरु, वहाँले स्थापित गरेका मूल्य र मान्यताहरू हामीसँगै छन्। हामीले यो शोकलाई शक्तिमा बदल्नुपर्छ। वहाँका असल गुणहरुबाट हामीले सिक्नुपर्छ। वहाँका योगदानहरूबाट सिङ्गो पार्टीले प्रेरणा लिइरहनुपर्छ। वहाँका उच्च र आदर्शमय कम्युनिष्ट गुणहरुलाई पार्टीमा फैलाउनुपर्छ र एउटा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्दै नेपालको समाजवादी क्रान्तिलाई सफलीभूत पार्ने र वैज्ञानिक समाजवाद प्राप्त गर्ने जनताको संकल्पलाई दुई गुणा बनाउँदै अघि बढ्नुपर्छ। यसरी मात्र हामीहरु कमरेड रामजी शर्माप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न सक्छौँ।’