विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव तथा कोशी प्रदेश कमिटीका इन्चार्ज राजेन्द्र राईले सरकारको हालखबर सोध्नु भएको छ।
प्रदेश सभाको छैटौँ हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै सोमबार राईले सरकारको हालखबर सोध्नु भएको हो। विकास निर्माणको काम गर्न वर्तमान सरकारले चासो नदिएको बताउँदै उहाँले प्रश्न गर्नुभएको छ, ‘सरकारको हालखबर कस्तो छ?’
सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएका राईले विनियोजित बजेट कार्यान्वयन गराउन सरकार चुकेको चर्चा गर्नुभयो। ‘यो बिचमा धेरै जिल्ला र गाउँ डुलियो, यसरी डुल्दा देखियो, योजनाको प्रगति छैन, ठेक्का लागेका बहुवर्षीय योजनामा कुनै प्रगति छैन,’ उहाँले भन्नुभयो, ‘यसैले सरकारको हालखबर सोध्न मन लाग्यो।’
बहुवर्षीय योजनाको काम पनि नगर्ने, क्रमागत पनि नगर्ने हो भने सरकार किन चाहियो भन्ने उहाँको अर्को प्रश्न थियो । उहाँले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिइँदा पनि भेदभाव गरिएको गुनासो गर्नुभयो।
‘पूर्वमुख्यमन्त्रीलाई सवारीसुविधा दिँदा घुमाएर, मिलाएर एकजनालाई मात्रै दिइयो, त्यो पनि को भन्दा अदालतले तीनपटकसम्म विभिन्न कारणले अमान्य ठहर गरेको व्यक्ति,’ उहाँले भन्नुभयो।