बुटवल। नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीको अधिवेशन फागुन २१ गते दाङका घोराहीमा हुनेभएको छ।
लुम्बिनी प्रदेश कमिटीको शनिबार बुटवलमा बसेको विस्तारित बैठकले अधिवेशनको मिति तय गरेको हो। पार्टीका उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ।
बैठकलाई सम्बोधन गर्दैै उपमहासचिव चौधरीले नेकपा एकिकृत समाजवादी कम्यूनिष्ट विचार र आदर्शबाट अगाडि बढेको बताउँदै देशभर संगठन चुस्त बनाउने कार्यमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो। उहाँले केपी ओलीले संसद विघटन गरेर संविधानमाथि नै प्रहार गर्दा आफूहरुकै कारण संसद र संविधान बचेको बताउनुभयो।
उहाँले आफूहरुले १०औँ महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार एउटा क्रान्तिकारी कम्यूनिष्ट पार्टी निर्माणमा जुटेको बताउनुभयो। नेकपा एस लुम्बिनी प्रदेश कमिटिका इन्चार्जसमेत रहेका चौधरीले कोही पनि भ्रममा नपरी समाजवादी कार्यदिशा बोकेर गाउँ गाउँमा खटिनसमेत नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।
अधिवेशनले पारित गरेको विधान र कार्यक्रम अनुसार प्रदेश अधिवेशन गर्ने निर्णय गरेको पार्टीका सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले बताउनुभयो। उहाँले महाविधेशनले संविधानमा लेखिएअनुसार नेपालमै पहिलोपटक नेपाली बिशेषता सहितको समाजवादमा पुग्ने कार्यक्रम ल्याउन सफल भएको बताउनुभयो।
नेपालमा कम्यूनिष्ट पार्टीहरुमध्ये समाजवादी पार्टीले नै पहिलोपटक कार्यक्रम, नीति र स्पष्ट कार्यदिशा सहितको कार्यक्रम ल्याएको उनले दावी गर्नुभयो। बैठकले १२ वटै जिल्लाको पछिल्लो अवस्थाको रिर्पोटिङ, जिल्ला अधिवेशन तथा उपनिर्वाचनको बिषयमा समिक्षा गरिएको पार्टीका लुम्बिनी प्रदेश सचिव अशोक कोइरालाले जानकारी दिनुभयो।
बैठकमा नेकपा एस लुम्बिनी प्रदेहका सह–इन्चार्जहरु अब्दुल हुसेन खाँ, रमा घर्ती, नन्द बन्जाडे,केन्द्रीय सदस्यहरु सिद्धिचरण भट्टराई, पिताम्बर सारु, भिउमान घर्ती, यादवबहादुर रायमाझी, प्रमेश पोखरेल, उमा काफ्ले, लक्ष्मी भुसाललगायतको उपस्थिती रहेको थियो।