काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको नेपालको राजनीतिमा थुप्रै विकृति र विसङ्गति देखा परेको बताउनु भएको छ।
४१औँ पिस्कर स्मृति दिवसका अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा विकृति विसङ्गतिहरू देखा परेको बताउनु भएको हो।
‘मुलुक चलाउनुपर्ने जिम्मेवारी पाएका कम्युनिस्ट पार्टीका भनिएका मानिसहरू छन्। तर, जनता सन्तुष्ट हुन सकेका छैनन्’, पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेपालले भन्नुभयो, ‘कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ।’
गुर्भाचोभ र यत्सिन पनि कम्युनिस्ट भए पनि उनीहरूले कम्युनिस्टहरू सिध्याएको उदाहरण दिँदै उहाँले कम्युनिस्टका नाममा गैर कम्युनिस्ट काम भइरहेको बताउनुभयो।
‘कम्युनिस्टको नाममा गैरकम्युनिस्ट काम गर्नुभएन। कम्युनिस्टको नाममा कम्युनिस्टको मर्यादा राख्नुपर्छ’, नेपालले भन्नुभयो, ‘त्याग तपस्या, बलिदानको कीर्तिमान कायम गर्नुपर्छ।’
राजनीति गर्नेहरूले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्न सके मात्र युवा पुस्ताले पनि राजनीतिमा विश्वास गर्ने नेपालको भनाइ छ।
के हो पिस्कर काण्ड ?
तत्कालीन पञ्चायती शासकले २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चकको पिस्करका सर्वसाधारणमाथि दमन गरेको थियो। शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहेका बेला पञ्चायती शासनले गरेको उक्त दमनमा स्थानीय इले थामी र वीरबहादुर थामीको ज्यान गएको थियो।
त्यस्तै जगतबहादुर बोहरा, पाल्कामाया थामी, सोनाम तामाङ गम्भीर घाइते भएका थिए। त्यसै घटनालाई पिस्कर काण्ड भनेर चिनिन्छ। जसलाई कम्युनिस्टहरूले स्मरण गर्ने गर्छन्।