काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), कर्णाली प्रदेशको दोस्रो बैठक सम्पन्न भएको छ।
पुस २६ र २७ गते प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरीको अध्यक्षता एवं उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
विशेष अतिथिका रुपमा पार्टीका केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज चन्द्र बहादुर शाही, अतिथिहरुमा पोलिटब्यूरो सदस्य एवं प्रदेश सहइन्चार्जहरु अम्मर बहादुर थापा र हस्त बहादुर शाही हुनुहुन्थ्यो।
वैठकको सञ्चालन प्रदेश सचिव धिर बहादुर बिष्ट र स्वागत मन्तव्य प्रदेश उपसचिव धनकुमारी जिसी शाहीले गर्नुभएको थियो। बैठकले प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।
प्रतिवेदनमा आधारित आगामी कार्ययोजना पनि सर्वसम्मतिले पारित गरेको छ। अध्यक्ष पुरी, सचिव बिष्ट, उपसचिव धन कुमारी जिसी शाही, सदस्यहरु काली बहादुर रावल, भोला केसी, छक्क बहादुर धरला, भैबहादुर रोकाय, कमल छत्याल, नमन कुमार शाही , डम्मर सिंह ठकुरी रहेको १० सदस्सीय सचिवालय गठन भएको छ।
सचिवालय र प्रदेश सल्लाहकार परिषदमा सदस्य थप गर्नको लागि मापदण्ड पारित गरिएको छ। चैत्र मसान्तसम्म जिल्ला, निर्वाचन क्षेत्र, नगर र गाउँ कमिटिको अधिवेशन सम्पन्न गर्न माघ मसान्तसम्म जिल्ला कमिटीहरूको बैठक बसी कार्ययोजना तयार गर्न बैठकले निर्देशन गरेको छ।
युवा, विद्यार्थी र महिला संगठनको प्रदेश सम्मेलन पनि चैत्र मसान्तसम्म सम्पन्न गर्ने कार्य योजना निर्माण गरिएको छ। कर्णाली प्रदेशको विकासको मार्ग चित्र तयार गर्न विज्ञहरु सम्मिलित कार्यदल गठन गर्ने, प्रदेशको मुखपत्र प्रकाशन गर्ने निर्णय भएको छ।