काठमाडौँ। नेपाल दलित मुक्ति संगठनको केन्द्रीय अध्यक्षमा रामऔतार पासवान् चयन हुनु भएको छ।
यही २०८१ पुस २२ गते काठमाडौँमा बसेको संगठनको स्थायी कमिटी बैठकले दलित आन्दोलनका पुराना नेता तथा संविधान सभा सदस्य पासवानलाई सर्वसम्मत चयन गरेको हो। उहाँ यसअघि संगठनको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो।
दशौँ राष्ट्रिय महाधिवेशनबाट पारित नेकपा (एकीकृत समाजवादी) को विधानअनुसार पार्टी पदाधिकारी र जनसंगठनको पदाधिकारी एउटै व्यक्ति हुन नमिल्ने व्यवस्थाअनुसार संगठनको अध्यक्षबाट गणेश विश्वकर्माले राजीनामा दिएपछि स्थायी कमिटीको बैठकले पासवानलाई अध्यक्ष चयन गरेको हो।
सोही बैठकले उपाध्यक्ष तथा कोशी प्रदेशको इन्चार्जमा नेत्र नेपाली (ताप्लेजुङ), उपमहासचिवमा नन्द घतानी (दोलखा) र प्रदीप सोव (कैलाली) तथा सचिवमा क्रमशः प्रेम विश्वकर्मा (दैलेख), निमबहादुर नेपाली (सल्यान) र दुर्गा नेपाली (तनहुँ) लाई चयन गरेको छ । साथै, केन्द्रीय कोषाध्यक्षमा द्धारिका शंकर (काठमाडौँ) र केन्द्रीय कमिटी सदस्यमा सुव्वासाहेव पासवान (रौतहट) लाई मनोेनयन गरेको छ।
त्यसैगरी बैठकले संगठनको नीति विपरित काम गर्ने सल्यानका भीउसीन नेपाली, सिन्धुलीका छत्र लाखे, ताप्लेजुंगका सन्त नेपालीलगायतलाइृ संगठनको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ।
स्थायी कमिटी बैठकले यही २०८१ माघ १ गतेदेखि २०८२ बैशाख मसान्तसम्म ४ महिने (१२० दिने) ‘दलित पुनर्जागरण तथा संगठन सुदृढीकरण अभियान’ सञ्चालन गर्ने भएको छ । सो बैठकले आगामी २०८२ जेठ २१, २२ र २३ गतेसम्म काठमाडौँमा छैठौँ राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।