काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान सत्ताको फासिष्टता र सडकको अराजकताको विरुद्ध उभिन पार्टी पंक्तिलाई अपिल गर्नुभएको छ।
पार्टीको निर्वाचन आयोगको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा बोल्दै महासचिव भुसालले उक्त अपिल गर्नुभएको हो। उहाँले वाम आन्दोलन संकटमा रहेकोमा चिन्ता प्रकट गर्नुभएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा महासचिव भुसालले भन्नुभयो, ‘अहिले वाम आन्दोलन संकटमा छ। यसको अर्थ हामी संकटमा छौँ। वर्तमान संटक टार्न सक्यौँ भने मात्रै राष्ट्रको संकट टर्छ। यसका निम्ति हामी नयाँ ढंगले जानुपर्ने हुन्छ। जो ऐतिहासिक सन्दर्भको हुनुपर्छ।’
महासचिव भुसालले राष्ट्रिय राजनीतिमा पार्टीले कसरी र कस्तो भूमिका खेल्ने भन्नेबारेमा हालै सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले योजना अघि सारिसकेको स्मरण गराउनुभयो। जनताको बीचमा जाने र आन्दोलनद्वारा पार्टी निर्माण गरेको खण्डमा मात्रै वर्तमान जडता चिर्न सकिने उहाँको ठहर छ।
महासचिव भुसालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ठूलो संकटकाबीच अघि बढिरहेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो,‘अहिले ओलीजि ठूलो संटकमा हुनुहुन्छ। जो संकट उहाँ आफैले सिर्जना गर्नुभएको हो। वर्तमान गठबन्धन सत्ता लेनदेन मात्रै हो। अहिले ओलीजि फासिस्ट बन्नेमै हुनुहुन्छ। अझैँ फासिस्ट बन्दै जाने देखिन्छ।’
भुसालले अगाडि भन्नुभयो,‘यस्तोबेला हामी खुट्टा टेक्नेगरी सडकमा उभिनुपर्छ। सत्ताको फासिष्टता र सडकको अराजकताको विरुद्धमा उभिनुपर्छ। राजनीतिक अभियान सुरू गर्नुपर्छ। त्यसको निम्ति पार्टीका सबै संरचनाले काम गर्नुपर्छ। पपुलिजमले लोकतन्त्रलाई हानि गर्न। हुँदाहुँदा भीम रावलले दोस्रो जनआन्दोलनमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता एजेण्डा थिएन भन्नेमा पुग्नुभएछ। यो निक्कै डरलाग्दो विषय हो। यो सामान्य कुरा होइन।’