काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशबाट ऋण लिन हुँदैन भन्नु थोत्रा अवधारणा भएको टिप्पणी गर्नुभएको छ।
बीआरआई परियोजनाबारे आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले ‘ऋण लिन हुँदैन, अनुदानमात्र लिनुपर्छ भन्नु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा’ मात्रै भएको बताउनुभयो।
‘ऋण लिनै हुँदैन, अनुदान मात्र लिनुपर्छ भन्ने खालका अवधारणाहरु आफैं थोत्रा अवधारणाहरु मात्रै हुन्,’ पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘यो चिन्तन गर्न नसक्ने, भिजन क्रिएट गर्न नसक्ने विषयवस्तुलाई पेनेट्रेट गरेर बुझ्न नसक्ने र आफ्नै देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा मात्रै हुन्।’
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा सहमति हुनु सकारात्मक भएको बताउनुभयो। यसले अरु सम्भावनाको ढोका खोलेको उहाँको भनाइ छ।
‘फ्रेमवर्क एग्रिमेन्टपछि हामीले अनेकौं अरु आयोजनाहरु ल्याउन सकिने सम्भावनाहरु हुन्छ,’ उनले भने, ‘ती सम्भावनाहरुलाई अलि कंक्रिटली केलाएर, यो देशका बौद्धिक शक्तिको सुझाव समेत लिएर, राष्ट्रिय हितलाई सर्वोपरी राखेर त्यस्ता योजनाहरुको प्रस्तावहरु लगियो भने त्यसले हामीलाई फाइदा हुन्छ।’