काठमाडौं। नेकपा एकीकृत समाजवादीका सचिव गणेश विकले विविध प्रकारका उत्पीडनविरुद्ध एक हुन जरुरी रहेको बताएका छन्।
सामाजिक परिवर्तन केन्द्रले काठमाडौंमा आयोजना गरेको सद्भाव सम्मेलनमा सचिव वि.कले नेपाली समाजको मूल जड जात प्रथानै रहेको भन्दै उनले जातले वर्गीय अवस्था देखाउने बताए।
सुदुरपश्चिममा जति धनि महिला भएपनि छाउपडी बस्नै पर्ने र त्यो छाउ बसेको उपल्लो जातको महिलाले पनि दलितलाई विभेद गर्ने हुनाले उत्पीडनविरुद्धको यात्रा गाह्रो र मसिनो रहेको बताए।
जनजातिहरुको मुद्दा पहिचानको र राष्ट्रियताको भएपनि दलितको मुद्दा डिग्निटीको रहेको उनले बताए। पछिल्लो समय भूमि सुधारको मुद्दा राजनीतिले छोडेर अहिले सिभिल सोसाइटीले बोकेको उनले बताए। कुनै निरंकुश शासकले दमन गर्यो भने मात्र पूर्ण सद्भाव रहने उनको भनाइ छ।
विकले आफु सुदुरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्ष हुँदा महिलाको शिर्षकमा ६०–७० लाख राख्न खोज्दा महिला हिंसा विरुद्धको अभियान १६ दिनमा कसरी ६० लाख खर्च गर्ने भन्दै बजेट पास गर्न नमानेको र बल्ल बल्ल ३० लाख कायम गरेको प्रसंग समेत उठाएका थिए।
उनले दलितको सरोकारवाला मन्त्रालय नै नभएको समेत बताए। मानवअधिकार आयोग बनाउनुपर्छ भन्ने आफु पनि एकजना भएको तर हालसम्म आयोगमा एकजना पनि दलित सदस्य हुन नसकेको विडम्बना रहेको बताए। बाध्यकारी अवस्था नहुँदासम्म समावेशी, समानुपातिकता मर्म अनुसार लागु हुन नसकेको अवस्था उनले उल्लेख गरे। गैसस, सिभिल सोसाइटीमै ३५ प्रतिशत महिला सहभागिता आवश्यक रहेको उनले बताए।
कार्यक्रममा मोहना अन्सारी, मिना पौडेल लगायतले मन्तव्य राखेका थिए। सद्भाव सम्मेलनमा देशैभरीबाट ७० जनाको उपस्थिति रहेको छ। सहभागीमध्येबाट विविध विषयमा प्रश्नहरु उठेका छन्। सम्मेलन काठमाडौंस्थित होटेल बसेरा बुटिकमा जारी छ।