काठमाडौँ। कास्की-काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा तत्कालीन अध्यक्ष कीर्तिशेष लुरे केसीको स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिब्युटरो सदस्य विजय गुरुङले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन मन्तव्यका क्रममा गुरुङले लुरे केसी विद्रोहको नेता भएको बताउँदै आफ्नोे समकालीन नेताको बिदाइ अत्यन्तै दुःखद भएको बताउनुभयो। गोरखा–काठमाडौँ सम्पर्क मञ्चले कास्कीका निवर्तमान दिवङ्गत नेताको स्मृतिमा समाजपयोगी कार्यगर्नु ज्यादै गौरव कुरा भएको बताउँदै अन्य सम्पर्क मञ्चहरुले गोरखा–काठमाडौँ सम्पर्क मञ्चबाट सिक्नुपर्ने बताउनुभयो।
पार्टी गतिशील रुपमा अघि बढिरहेको बताउँदै पार्टीले भर्खरै गरेको कार्यविभाजनमा केही असन्तुष्टी भए पनि पार्टी निर्माणमा जुटेर क्रियाशील हुनुपर्ने बताउनुभयो। यसै गरी अर्का पोलिब्युटरो सदस्य दिलकुमारी पन्तले कास्की पार्टीले गतिशील, सक्रिय, न्यायमूर्तिका रुपमा रहेका अग्रज अभिभावक गुमाएको भन्दै कीर्तिशेष लुरे केसीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो।
यसका साथै उहाँले पार्टी निर्माणमा लुरे केसीको योगदान स्मरण गर्नुहुँदै उहाँको मार्ग पछ्याउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कास्केली नेतृ दिलकुमारी पन्तले गण्डकी प्रदेशले सम्झनुपर्ने लुरे केसीलाई गोरखाले सम्झेकोमा गोरखा–काठमाडौँ सम्पर्क मञ्चलाई धन्यवाद व्यक्त गर्नुभयो । पार्टीको भर्खरैको निर्णयलाई केही तल माथि परेको भए पनि दृढतापूर्वक कार्यान्वयन गर्न र पार्टी नेतृत्वबाट थप छलफल गरी असन्तुष्टीको सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो र सम्पूर्ण कार्यकर्तालाई पार्टी निर्माणमा थप क्रियाशील हुन निर्देशन दिनुभयो।
उक्त कार्यक्रममा दर्जनौँ नेता कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा सम्पर्क मञ्चका अध्यक्ष विश्वज्योति बानियाँले गोरखा–काठमाडौँ सम्पर्क मञ्च आफ्नोे वार्षिक कार्ययोजनाबमोजिम दृढ भएर अघि बढिरहेको बताउँदै संगठन निर्माण र विस्तारमा सम्पर्क मञ्च कटिबद्ध भएर लागिरहने बताउनुभो। उहाँले पार्टी केन्द्रले गोरखा–काठमाडौँ सम्पर्क मञ्चलगायत अन्य सम्पर्क मञ्चलाई हेर्ने दृष्टिकोण सकारात्मक रहोस् भन्ने अपेक्षा रहेको बताउनुभयो। गोरखा–काठमाडौँ सम्पर्क मञ्ले विद्रोहमा गतिलो साथ दिएको र यसअन्तर्गत गोलबन्द भएका अग्रज, विज्ञ, ज्येष्ठ थुप्रै नेताहरु रहनुभएको र पार्टी निर्माणमा उहाँहरुको अतुलनीय सहयोग भएकाले पार्टी केन्द्रले जिम्मेवारी प्रदान गर्दा गोरखालाई विशेष ध्यान दिनेछ भनी विश्वास व्यक्त गर्दै आवश्यक सहजीकरण गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो। कार्यक्रमको सहजीकरण सम्पर्क मञ्चका सचिव आकाश अर्यालले गर्नुभएको थियो।