इजरायल र हमासबिच एक वर्षदेखि जारी युद्धले गाजाको अर्थतन्त्र लगभग ‘पूर्ण रूपमा ध्वस्त’ भएको छ । अहिले आएर संयुक्त राष्ट्रको एक प्रतिवेदनले गाजाको अर्थतन्त्र द्वन्द्वपूर्वको स्तरमा फर्कन ३५० वर्ष लाग्ने चेतावनी दिएको छ । हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्दै १२०० सयभन्दा बढी मानिसको हत्या गरेको थियो । जवाफमा इजरायलले हमास निर्मूल पार्ने भन्दै सुरु गरेको सैन्य अभियानअन्तर्गत उसले गाजामाथि निरन्तर बमबारी गरिरहेको छ । यसले गाजाको अर्थतन्त्र र पूर्वाधार लगभग पूर्ण ध्वस्त भएको संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास शाखा युएनसिटिएडीले तयार पारेको रिपोर्टले जनाएको छ ।
गत महिना संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत गरिएको उक्त प्रतिवेदनअनुसार गाजामा आर्थिक गतिविधि अहिले ठप्पप्रायः छ । उसो त युद्धअघि नै त्यहाँको अर्थतन्त्र नाजुक अवस्थामा थियो । गाजामा अहिले न्यूनतम मानवीय स्वास्थ्य तथा खाद्य सेवा मात्र सुचारु छ । तथापि, पिउने पानी, इन्धन र बिजुलीको समेत चरम अभाव कायम छ ।
प्रतिवेदनका अनुसार गत वर्ष अक्टोबर यता गाजामा निर्माणसम्बन्धी क्षेत्रको उत्पादन ९६ प्रतिशतले, कृषि उत्पादन ९३ प्रतिशतले, औद्योगिक उत्पादन ९२ प्रतिशतले र सेवा क्षेत्र उत्पादन ७६ प्रतिशतले घटेको छ । अर्थतन्त्रमा भएको क्षतिले बेरोजगारीदर अकासिएको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा गाजा क्षेत्रको बेरोजगारी ८१।७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । यदि इजरायली सैन्य अपरेसन जारी रहेमा यो दर कायम रहने वा थप खराब बन्न सक्ने सम्भावना रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।
‘गाजामा चलिरहेको तीव्र सैन्य कारबाहीले अभूतपूर्व मानवीय, वातावरणीय र सामाजिक विपत्ति निम्त्याएको छ । यसबाट गाजा विकासको मार्गबाट वर्षौँ पछाडि धकेलिदिएको छ,’ युनएनसिटिएडीको प्रतिवेदनमा भनिएको छ । गाजालाई यथास्थितिमा फर्काउन दशकौँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । ‘युद्धविराम भएपछि गाजालाई सन् २००७–२२ को वृद्धिको स्तरमा फर्काउन र यसको कुल गार्हस्थ्य उत्पादनलाई सन् २०२२ को स्तरमा पुनस्र्थापित गर्न ३५० वर्ष लाग्ने संकेत भेटिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार पछिल्लो १२ महिनाको सैन्य कारबाहीअघि पनि सन् २००७ र २०२२ बिचको अवधिमा गाजाका उत्पादन सामग्री र मानिसको आवागमनमा इजरायली प्रतिबन्ध थियो । त्यसबाट गाजाको अर्थतन्त्र गम्भीर रूपमा प्रभावित भएको थियो । ‘सन् २००७ र २०२२ बिच गाजामाथि इजरायली अवरोध नभएको भए सन् २०२३ को अन्त्यसम्ममा गाजाको कुल गार्हस्थ्य उत्पादन यसको वास्तविकस्तरभन्दा औसतमा ७७।६ प्रतिशत बढी हुने थियो । यसको अर्थ सन् २००७–२०२२ को अवधिमा मोटामोटी रूपमा कुल ३५।८ अर्ब डलरको कुल गार्हस्थ्य उत्पादन गुमेको संकेत भेटिन्छ । यो भनेको सन् २०२३ को गाजाको कुल गार्हस्थ्य उत्पादनको १७ गुणा हो,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा सन् २०२४ जुलाईको अन्त्यसम्ममा इजरायली आक्रमणबाट गाजाका ८८ प्रतिशत विद्यालय भवन कुनै न कुनै रूपमा क्षतिग्रस्त भएको, ३६ अस्पतालमध्ये २१ वटा सेवाविहीन रहेको र १०५ प्राथमिक स्वास्थ्य संस्थामध्ये ४५ वटा सञ्चालनमा नआएको उल्लेख छ । त्यस्तै, ६२ प्रतिशतलभन्दा बढी आवासीय भवन क्षतिग्रस्त भएको र ५९ प्रतिशतभन्दा बढी पिउनेपानी, सरसफाइ क्षेत्रको पूर्वाधारमा भारी क्षति पुगेको प्रतिवेदनले भनेको छ । युएनसिटिएडीले सन् २०२३ को चौथो त्रैमासिकमा गाजानिटक इतिहासकै सबैभन्दा ठुलो आर्थिक मन्दी सामना गरेका बताएको छ । कुल गार्हस्थ्य उत्पादन तेस्रो त्रैमासिकको प्रतिवेदनले बताएको छ ।
द गार्जियनबाट