काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाउनु भएका छ।
ठूला दलहरुका त्यस्ता नीतिको भण्डाफोर गर्न उहाँले आह्वान गर्नु भएको छ। संविधान दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले वर्तमान संविधान जारी भएपछिका यी ९ वर्षमा ८ वटै नीति तथा कार्यक्रम, ९ वटै वार्षिक बजेट र दुई वटा पञ्चवर्षीय योजना लागू गरिसक्दा पनि जनआकांक्षा सम्बोधन नभएको उल्लेख गर्नु भएको छ।
यसो हुनुको दोष उहाँले ठूला पार्टीहरुलाई लगाउनु भएको छ। पूर्वप्रधानमन्त्री खनालले भन्नुभएको छ, ‘आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहीनता, लक्ष्यहीनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहीनता, नैतिकहीनता र निष्ठा विहीनताको अनिवार्य परिणाम हो।’
संविधानका प्रगतिशील पक्षहरू लागू नगरेर संविधान संशोधनको हल्ला मचाइरहेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नु भएको छ। देशमा दलाल पुँजीवादको रजगज भएको भन्दै उनले त्यसलाई चुपचाप हरेर नहुने बताउनुभयो।
‘जनता र राष्ट्रका समस्याहरू दलाल पुँजीवादले समाधान गर्न सक्तैन । त्यसले देशलाई हर दिन चौतर्फी संकटतिर लागिरहेछ,’ खनाल भन्नुहुन्छ,‘देशमा यतिबेला राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिँदै गइरहेछ । राष्ट्रियता माथिको संकट त्यति कै चर्को बनिरहेछ।’